उदाहरणीय दनुवार दम्पती, जसले समाज बदल्याे



काठमाडौं : पुरानो प्रचलित लोकोक्ति छ – एउटा सफल पुरुषको पछाडि एउटी महिलाको हात हुन्छ। खासगरी यो सफल पुरुषका पत्नीप्रति लक्षित छ। फेरिएको समयअनुसार यो लोकोक्तिलाई एउटी सफल महिलाको पछाडि एउटा पुरुषको हात हुन्छ मा बदल्नुपर्ने स्थिति आइसकेको छ। यहाँ भने पुरुषको हात भनेर पतिलाई लक्षित गरिएको हो। यस्तै उदाहरण बनेका छन्, चेलिबेटी (मानव) बेचबिखनविरुद्धकी अभियन्ता एवं शक्ति समूहकी संस्थापक सुनिता–नृप दनुवार दम्पती।

१४ वर्षको किशोर वयमै भारतमा बेचिएकी सुनिता स्वदेश फर्किएसँगै महिला बेचबिखनविरुद्ध अभियानमा सक्रिय छिन्। मानवतस्करी र बेचबिखनविरुद्धका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाइसकेकी सुनिताको हरेक पाइलामा नृपको बलियो साथ र सहयोग छ।

नृपको सुनितासँग कहाँ भेट भयो, दाम्पत्य जीवनको सुरुवात कसरी भयो र कसरी साथ दिइरहेका छन् त ? यसबारे नृपले द नेपाल टपसँग बेलिविस्तार लगाएका छन्।

०५२ सालतिर हो, नृपले सुनितालगायत अरू निकैजना भारतमा बेचिएका र बिरामी युवती नेपाल फर्कंदैछन् भनेर धेरै अखबारमा छ्यापछ्याप्ती समाचार आएको थियो। उनले पनि ती समाचार पढेका थिए। काठमाडौं फर्किएपछि संयोगवश उनको भेट सुनितासँग भयो।

०५२ सालमा उद्धार गरेर सुनिताहरू काठमाडौं फर्केपछि ओरेक भन्ने संस्थामा आश्रय लिइरहेका थिए। त्यतिबेला उनी पनि पाटनको मंगलबजारमा काम गर्थे। संयोग पनि कस्तो भने सुनिताहरू बसेको ओरेकको अफिस र उनले काम गर्ने ठाउँ नजिकै भएकाले कैयौंपल्ट देखादेख र भेट भयो। अनि उनले सुनितालाई बिस्तारै बिस्तारै थाहै नपाइ मन पराइसके छन्।

नृपकी दिदी ओरेकको उदयपुरस्थित अफिसमा काम गर्ने हुँदा उनी ओरेक अफिसमा प्रायः गइरहन्थे। ‘एकपल्ट मैले झ्वाट्ट सुनितालाई देखें। उनलाई उद्धार गरेर ल्याइएको हो भन्ने मलाई थाहा थियो’, उनले भने, ‘पहिलो नजरमै उनलाई मन पराएँ । तर मन पराउँछु भनेर भन्न सकिनँ।’

नृपलाई सुनिताबारे पहिले नै करिब करिब सबै कुरा थाहा भएकाले नियमित जस्तै देखादेख हुँदा उनलाई साथ दिन पाए राम्रो होला भन्ने लाग्यो। ‘मन पराएको मान्छेको साथ आफूले पनि पाउँदा राम्रै होला जस्तो लाग्यो मलाई’, भन्छन् नृप, ‘लाग्थ्यो दुःखमा परेका मान्छे धेरै बुझ्ने र संघर्ष अनि गर्न सक्ने हुन्छन् ।’ नभन्दै सुनिता त्यस्तै छिन्।

त्यसमाथि नृपकी दिदी ओरेकमा काम गर्ने भएकाले सुनिताकी साथी भइन्। उदयपुरमा हुँदा सुनिता नृपको घर आउनेजाने गर्थिन्। ‘त्यहाँ पनि भन्न सकिनँ। अनि पत्र पठाएँ’, नृपले भने, ‘चिठीबाटै हामीबीच प्रेम भयो। तर परिवारलाई सुइँको दिएनौं।’ उनी सुनितालाई पनि घरमा ल्याउन दिदीसँग भन्थे। दिदीले लिएर आउँथिन्। घरमा दुःख, सुःख गरेर पकाएको जे छ, उनीहरू त्यही खान्थे। तर उनीहरूको सम्बन्धबारे घरमा कसैलाई शंकै भएन।

यसको केही समयपछि ०५४ सालमा नृप–सुनिताले विवाह गरे। अचानक दुवैले बिहे गर्दा मात्र नृपको परिवार झल्याँस्स भयो। ‘बिहे गर्दा म २१ वर्षको थिएँ। सुनिता र मेरो उमेरमा उस्तै जस्तो छ’, नृपले बताए। एक्कासी सुनितालाई घर लैजाँदा अरू त अरू घरकै मान्छेले नै केही भन्देलान् र उनको पीडा अझै थपिएला भन्ने पिर थियो नृपलाई। त्यसैले बिहेपछि एक वर्ष नृप घरै गएनन्। ‘म उनलाई कहीं कतै पनि अपमानित भएको देख्न सक्दिनथें’, उनले भने।

सुनिताले सुरुमै उनलाई प्रष्ट भनेकी थिइन्– म बेचिएर फर्केकी केटी, मसँग विवाह गर्दा समाजले तपाइलाई अर्कै नजरले हेर्ला। तर नृपलाई लाग्छ, सबैभन्दा ठूलो कुरा मन नै त रहेछ। ‘मैले उनलाई मनैदेखि मन पराएको थिएँ। हाम्रो मन मिल्यो’, उनी भन्छन्, ‘मेरै जिद्दीले हाम्रो बिहे भयो।’

जोरिपारीले दुवैलाई धेरै थोक भने, कुरा काटे– कन्ने केटाले बेचिएकी केटी बिहे ग-यो भनेर। त्यसमाथि उनीहरूले अन्तरजातीय बिहे। त्यसपछि नृप दम्पतीमा इख जाग्यो। उनलाई सुनिताले यही कुरा काट्ने समाजमा केही गरेर देखाउन् भन्ने लाग्यो। उनको त्यो सपना भनौं वा चाहना यतिबेला पूरा भएको छ। ‘नेपाल फर्किएपछि सुनिताले केही गर्छु भन्ने अठोट लिएकी थिइन्’, उनले बताए, ‘मैले पनि यही समाजमा केही गरेर देखाऊ भनेर होस्टेमा हैंसे गरें।’

उनलाई सुनिता आत्मनिर्भर बनून्, नोकरी गरुन्, कमाऊन् जस्तो लाग्थ्यो। सुनिताको उत्कट अभिलाषा अध्ययन अघि बढाउने थियो। यसबीच छोरी जन्मिएकाले उनको पढाइमा अवरोध आएको थियो। त्यसैले सुनिताको सफलताका लागि उनले हरेक काममा सुनितालाई अघि बढ भनेर साथ दिए। मानवतस्करी र चेलीबेटी बेचबिखनविरुद्धका हरेक कार्यक्रममा सुनितालाई सहभागी गराउन चाहन्थे उनी। ‘३ महिनाकी छोरीलाई म आफैंले सम्हालेर उनलाई भैरहवा पठाएँ। उनी ३ दिनको कार्यक्रममा सामेल भएर फर्किएकी थिइन्। आमाको काख छाड्नु पर्दा छोरी साह्रै रुन्थी’, उनले पुराना सम्झना बेलिविस्तार लगाए।

कामकाजलगायत कुनै पनि सिलसिलामा लामो समय घरबाहिर रहने सुनितामाथि उनले कुनै किसिमको अविश्वास, चरित्रमा शंका, झैझगडा, मनोबल गिराउने काम कहिल्यै गरेनन्। सदैव सकारात्मक सोच राखी सहयोगी भावनाबाट कदममा कदम मिलाएर साथ दिइरहेका छन्।

नृप अनुभूत गर्दै छन् बदलिँदो समयसँगै नेपाली समाजको संकीर्ण मानसिकता बिस्तारै फेरिने क्रममा छ, उदार र उदत्त हुँदैछ। छोरा मात्र होइन छोरी पनि पढाउनु पर्छ, छोरीलाई घरको काममा मात्र सीमित गर्न नहुने, पुरुषका हरेक पाइलामा पाइला मिलाएर अघि बढाउनु पर्ने चेतनाको विकास हुँदै छ। छोरीहरू शिक्षित हुन थालेका छन्। आत्मनिर्भर भएर आफ्नै खुट्टामा उभिन प्रयासरत छन्।

तर पनि शिक्षित महिलाले समेत सामाजिक मान्यता, रुढीवादी परम्परा, लैंगिक असमानता र असुरक्षित हुनुलाई अझै पयिन दुःखद् मान्छन् उनी। महिलाहरू आयआर्जनमा संलग्न नहुनुलाई उनी नेपाली समाजले महिलाप्रति सहयोगी भावना नराखेको, संघर्षरत महिलालाई समाजले दुरूत्साहन गरेको, राज्यले समेत न त आर्थिक न त सामाजिक सुरक्षाको नै प्रबन्ध गरेको ठान्छन् नृप। ‘सामाजिक मान्यता नै संकुचित छ भने परिवारबाट महिलाले सहयोग पाउने कुरै भएन’, भन्छन् उनी।

पतिपत्नीबीच आपसी सम्बन्ध र सहयोगबारे नृपको विचार पनि औधी प्रगतिशील छ। उनलाई लाग्छ– पतिको काम र कमाइमा जसरी पत्नी खुसी हुन्छिन्, त्यसरी नै पत्नीको काम र कमाइमा पनि पति रमाउन सक्नु पर्छ। पतिले पत्नीको आत्मबल खस्काउने, कमजोर बनाउने नभएर प्रोत्साहन गर्नुपर्ने उदारवादी सोच राख्छन् उनी।

महिला संलग्नताले समाजमा सकारात्मक परिवर्तनका ढोका खुल्छ भन्छन् उनी। पुरुषलाई जसरी महिलाले सहयोग गरेका छन् त्यसरी नै महिलालाई पनि पुरुष सहयोगको खाँचो रहेको बताउन नबिर्सने उनी पोथी बासेको सुहाउँदैन भन्ने जस्ता पुरातनवादी सोच त्याग्न समाजसँग आग्रह गर्छन्। सकारात्मक सोच राखी महिलालाई सफल पार्न सघाउने मानसिकताको विकास गर्न पनि उनी पुरुषवर्गसँग आग्रह गर्छन्।

उनी कुराले मात्र होइन पत्नी अर्थात् सुनिताको नामबाट वा भनौं सुनिताको पति भनेर चिनिँदा आफूलाई गौरवान्वित अनुभव गर्छन्। ‘सुनितालाई विवाह गर्दा मलाई यही समाजले अनेक कुरा काटेको थियो। मलाई घृणाको नजरले हेर्ने मान्छेहरूको धारणा नै अहिले फेरिएको छ’, उनले सुनाए, ‘बेचिएकी केटीसँग बिहे गरेको भनेर धेरैले खिसी गरेका थिए।

अहिले त्यसो भन्नेहरू नै नृपले असल केटी बिहे गरेछ भनेर तारिफ गर्छन्। पहिले आँखीभौं खुम्च्याउने गाउँलेहरू अहिले मलाईभन्दा सुनितालाई बढी माया गर्छन्, आदरसत्कार गर्छन् । मलाई योभन्दा खुसीको कुरा अरू के हुन सक्छ र !’

प्रतिक्रिया दिनुहोस्