सप्तरीमा बाढी पस्यो, ४ सय घर डुबानमा



सप्तरी । सप्तरीमा बाढीकाले चन्द्रनहरको डिल भत्किँदा करीब ४ सय घर डुबानमा परेका छन । सप्तकोशी नगरपालिका प्रमुख उत्तम गौतमका अनुसार वडा नम्बर-४ बलार्दहस्थित चन्द्रनहरको दुईवटा डिल बाढीले भत्काइदिएको छ ।

अविरल वर्षापछि विभिन्न खोला र नदीमा आएको बाढी ओभरफ्लो भएपछि जीर्ण अवस्थामा रहेको चन्द्रनहरको डिल भत्किएको नगरपालिका प्रमुख गौतमले जानकारी दिए । अविरल वर्षाका कारण नहरमा पानीको ओभरफ्लो छँदै थियो । खोला र नदीमा आएको बाढीले समेत समस्या परेको उनले बताए ।

बाढीले चन्द्रनहरमा पानी तीब्र गतिमा ओभरफ्लो भएर बग्दा बिभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । महादेवा गाउँपालिका-४ मा पनि नहर भत्किने अवस्थामा पुगेको उनले बताए । लगातार पानी परिरहे यो नहर भत्किने क्रमलाई रोक्न नसकिने उनको भनाइ छ ।

लगातारको वर्षाका कारण सप्तरीको दक्षिणी क्षेत्रमा थप डुबानको सम्भावना बढेको मेयर गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्