मधेश थरुहट मुद्दा सम्बोधन गर्न जसपाको माग



काठमााडौं : जनता समाजवादी पार्टीले मधेशका मुद्दा सम्बोधन गर्न वर्तमान सरकारको ध्यानाकर्षण गराएको छ । जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा मंगलबार बबरमहलस्थित पार्टी कार्यालयमा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

मधेशको मुद्दा सम्बोधन गर्न संविधान संशोधन, सांसद रेशम चौधरीको कानुनबमोजिम शीघ्र रिहाई, नागरिकता समस्या समाधान, झुठा मुद्दा फिर्ता तथा खारेजी, मधेश थरुहट आन्दोलनका शहीद परिवारलाई क्षतिपूर्ति, घाइतेलाई क्षतिपूर्ति तथा उपचार, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने लगायतका मागप्रति प्रतिवद्धता जनाएपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएको जनाउँदै जसपाले ती मुद्दा यथाशीघ्र सम्बोधन गर्न माग गरेको छ ।

बैठकले यसअघि एमालेका केपी शर्मा ओली नेतृत्वको सरकारले केही माग सम्बोधन गरेको र प्रक्रिया थालेकोले त्यसका लागि धन्यवादसमेत दिएको छ । यस्तै जसपाले कोरोना संक्रमणको रोकथाम नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गर्दै अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई उचित राहत प्याकेज उपलब्ध गराउन मागसमेत गरेको छ । अविरल वर्षासँगै विभिन्न स्थानमा आएको बाढीपहिरोले ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति, पीडित तथा विस्थापित परिवारको पुनर्बास, राहत उपलब्ध गराउनसमेत जसपाले सरकारलाई अनुरोध गरेको छ ।

कृषकहरुलो सिँचाई, मलखाद्य, बीउको समुचित व्यवस्थापन, नेपाल भारत सीमा लामो समयदेखि बन्द रहनाले सीमावर्ती दुवै क्षेत्रका वासिन्दालाई आवत जावतमा कठिनाइ उत्पन्न भएकाले सहजताका लागि आवश्यक प्रवन्ध मिलाउनसमेत आग्रह गर्ने निर्णय गरिएको जसपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जसपाले राज्यका सबै निकाय तथा अंगहरुमा समानुपातिक समावेशी सिद्धान्तबमोजिम पूर्ण समावेशीताका आधारमा नियुक्ति गर्न गराउन ध्यानाकर्षण गराउनुको साथै मुस्लिम समुदायको पर्व बकरिदको अवसरमा हार्दिक बधाई शुभकामना व्यक्त गरेको जसपाका नेता डा. सुरेन्द्रकुमार झाले बताए । बैठकमा सरकार तथा विभिन्न समसामयिक विषयमा समेत छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्