सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गर्न माओवादी केन्द्रको आग्रह



काठमाडौं । सरकारलाई प्रभावकारी रुपमा सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रले आह्वान गरेको छ ।
नेकपा माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएकाले छिटै त्यस्तो कार्यक्रम बनाउने निर्णय गरेको छ ।साझा कार्यक्रम गठबन्धनले बनाउने र सोही अनुसार सरकार सञ्चालन गर्ने माओवादीको भनाइ छ । आह्वानसँगै माओवादी केन्द्रले न्यूनतम साझा कार्यक्रम तय गर्न पार्टीकोतर्फबाट नेता देव गुरुङ र वर्षमान पुनलाई निर्देशन दिएको छ ।
पार्टीको स्थायी कमिटीको बुधबार बसेको बैठकले केपी शर्मा ओलीको प्रतिगामी कदम असफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै गठबन्धनको सरकारलाई सफल बनाउन साझा नीति तथा कार्यक्रम वा न्युनतम साझा प्रतिवद्धता आवश्यक भएको ठहर गरेको छ । त्यस्ता कार्यक्रम तय गर्न कार्यदललाई निर्देशन दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘गठबन्धनको सरकार न्युनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताका साथ अघि बढाउनुपर्ने भएकाले तुरुन्त त्यस्ता कार्यक्रम तय गर्न आव्हान गरेको छ र कार्यदलका सदस्यहरुलाई निर्देशन दिएको छ’, बैठकपछि नेता श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।
त्यस्तै बैठकले प्रतिगमन विरुद्धको संघर्ष सकिएपछि र नयाँ सरकार गठन भएर विश्वासको मत समेत लिइसकेकाले पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न ध्यान केन्द्रित गर्ने भएको छ ।
बैठकको गृहकार्यको तयारीस्वरुप साउन १७ गते स्थायी समिति बैठक बस्ने पनि बैठकले निर्णय गरेको छ । सरकारमा जाने विषयमा भने बुधबारको बैठकमा कुनै छलफल नभएको माओवादी केन्द्रले जनाएको छ । तर सकेसम्म गठबन्धनका सवै शक्तिसँग छलफल गरेर सरकारलाई पूर्णता दिने माओवादीको निश्कर्ष छ ।
नेता श्रेष्ठले बैठकमा मन्त्रिपरिषद्मा पठाउने नामबारे छलफल नभएपनि सरकारले छिट्टै पूर्णता पाउने बताए । ‘गठबन्धनका सबै दल र समर्थन गरेका सांसदहरूसँग छलफल भइरहेको छ । सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व हुने गरी सरकारलाई पूर्णता दिन उपयु्क्त हुन्छ । त्यसकारण गठबन्धनका सबै शक्तिहरूसँग छलफल गरेर सरकारलाई पूर्णता दिने निर्णय गर्छौं,’ श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्