बिहे प्रस्ताव नआउँदा दुःखी बनेका सलमानले खुलाए बिहे नहुनुको कारण



बलिउड अभिनेता सलमान खान ५३ वर्ष पुगिसक्दा पनि अविवाहित छन् । उनका प्रेमीकाहरुको सूची हेर्ने हो भने निकै लामै छ तर पनि उनको विवाह भने कसैसँग हुन सकेन।

सलमानको विवाहको गसिप बलिउडमा निकै नै हुने गर्छ । हाल आफ्नै फिल्म भारतका प्रचारप्रसारमा व्यस्त रहेका सलमानले आफ्नो विवाहका बारेमा कुराकनी गर्दै आफ्नो विवाह अहिलेसम्म हुन नसक्नुको रहस्य खोलेका छन्।

उनका अनुसार उनलाई आजसम्म विवाहका लागि कुनै पनि युवतीले प्रस्ताव नै राखेका छैनन्।

दैनिक भाष्करका अनुसार फिल्म भारतमा कट्रिनासँग स्क्रिन सेयर गरेका सलमानलाई सो फिल्मभित्र नायिका कट्रिनाले विवाहको प्रस्ताव राखेकी छिन्। यसै प्रसंगलाई आधार मान्दै के तपाईंलाई वास्तविक जीवनमा पनि कुनै युवतीले विवाहको प्रस्ताव राखेकी छिन् भनेर सोधिएको प्रश्नमा सलमानले आफ्नो विवाह नहुनुका कारण खोलेका हुन्।

उनले भनेका छन्– ‘मलाई वास्तविक जीवनमा कुनै पनि युवतीले विवाहको प्रस्ताव राखेनन्। मैले कहिल्यै पनि प्रेमिकालाई क्यान्डल लाइट डिनरमा लगेको छैन। सायद लगेको भए विवाहको प्रस्ताव आउँथ्यो कि?’ समाचारअनुसार सलमानलाई कुनै पनि युवतीले विवाहको प्रस्ताव नराखेकोमा भने दुःख लागेको छ।

 

प्रतिक्रिया दिनुहोस्