‘देउवा काँग्रेसका अन्तिम प्रधानमन्त्री भन्ने ओली नै होइन ?’



काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ओलीले प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसको तर्फबाट शेरबहादुर देउवा नै अन्तिम प्रधानमन्त्री भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन् ।

‘कुन प्रधानमन्त्रीले भनेको हो कुन्नी ? निर्वतमान हो जस्तो लागेको छ । शेरबहादुर देउवा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर भन्नुभएको थियो,’ उनले भने, ‘तर, अब झण्डै दुई तिहाइ। मत प्राप्त गरेको ओलीको सरकारले के गर्यो ? उहाँले आफ्नै घरलाई, व्यवस्थापन गर्न नसकेको, पार्टीलाई व्यवस्थापन गर्न नसकेको, जनतालाई दिएको बाचा पूरा गर्न नसकेको, विधिको शासनलाई मिचेर हुँकार गरेर छोडेर जानुपर्ने अवस्था आएपछि उहाँ शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो त ।’

सिंहले एमालेका संसदीय दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङप्रति लक्षित गर्दै संविधानको धारा ७६(५) को व्यवस्थाबारे आलोचना गरे । ‘कानुनविद्, विद्वान भन्छन भन्ने बेलामा । संविधान बनाउँदा धारा ७६(५) राख्ने अहिले आएर संस्कार र भ्यालूको कुरा गरेर मिल्छ ?’ उनले प्रश्न गर्दै भने, ‘दोस्रो पटक यो लोगो लगाएर हामी यहाँ उभिएका छौँ । सत्तामा रहँदा कार्यपालिकाले अपनाउनुपर्ने कुरा नपाउने ? अहिले आएर जनताको जनादेश हैन परमादेश भनेर उहाँहरुले के पाउनुहुन्छ ? देउवा सविधानअनुसार प्रधानमन्त्री हुनुभएको छ । आफूले विधि र प्रक्रिया मिच्ने, दलहरुले संविधान रक्षाका लागि अघि बढ्दा । सत्तामा हुँदा एउटा कुरा, विपक्षमा हुँदा मूल्य मान्यता कुरा गर्ने ?’

सिंहले ओलीमाथि व्यंग्य गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ‘लक्की’ भएको पनि बताए । ‘एक किसिमले उहाँ (देउवा) लक्की नै हुनुहुन्छ,’ उनले भने, ‘ओलीले पानी जहाज पनि चलाई सक्नुभएको छ । चुच्चे रेलले दुवै छिमेकीलाई छोइसकेको छ । हाम्रो प्रधानमन्त्रीलाई काम गर्न चाहिँ सजिलै होला जस्तो छ ।’

प्रतिक्रिया दिनुहोस्