सर्वाेच्च अदालतको पर्खाइमा दुवै समूह, भित्रभित्रै हुँदैछ तयारी



काठमाडौं । निर्वाचन आयोगमा आधिकारिकता विवाद विचाराधीन रहेका बेला जनता समाजवादी पार्टीका दुवै समूह आआफ्नो रणनीति बनाउन लागेका छन् । शनिबार प्रथम अध्यक्ष महन्थ ठाकुर र दोस्रो अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक राखेर त्यस विषयमा छलफलसमेत गरेका छन् ।

निर्वाचन आयोगले सोमबार कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखत गर्न बोलाएको छ । त्यस दिन नै सनाखतका आधारमा आयोगले आधिकारिता विवाद सुनाउने तयारी गरेको छ । तर त्यसका लागि आयोगले प्रथम अध्यक्ष ठाकुरले गरेको कार्यकारिणी समिति विस्तारलाई मान्यता नदिएर अगाडि बढेपछि ठाकुर समूह सर्वाेच्च अदालत पुगेको छ । सर्वाेच्च अदालतमा दायर आयोगविरुद्धको रिट आइतबार पेशी तोकिएको छ ।

कार्यकारिणी समितिले दिएको अधिकार प्रयोग गरी प्रथम अध्यक्ष ठाकुरले कार्यकारिणी समिति विस्तार गरेका र त्यस विस्तारको निर्णयलाई सम्बोधन नगरिकन आयोग निर्णय प्रक्रियामा अगाडि बढेपछि सर्वाेच्च अदालतमा रिट निवेदन दिनुपरेको जसपा नेता डा. सुरेन्द्रकुमार झाले बताए । सर्वाेच्चमा विचाराधीन रिटमा आउने निर्णयका आधारमा सोमबार आयोगमा जाने नजाने विषयमा निर्णय लिइने उनले बताए ।
निर्वाचन आयोगले कार्यकारिणी समितिको सदस्यहरुको नामावलीबारे टुंगो नलगाएर पुरानै कार्यकारिणी समितिका आधारमा निर्णय प्रक्रियामा प्रवेश गरेकोले त्यसविरुद्ध सर्वाेच्च जानुपरेको उनले बताए । यद्यपि आयोग र समग्र पार्टी परिस्थितिबारे समिति बैठकमा छलफल भएको उनले बताए ।

उता उपेन्द्र समूहले पनि सर्वाेच्चमा विचाराधीन रिट र सोमबार आयोगमा हुने सनाखतको तयारीका लागि कार्यकारिणी समितिका सदस्यहरुलाई सुरक्षित राख्न थालेको छ । ठाकुर पक्षमा जाने सम्भावनालाई ध्यानमा राखेर उपेन्द्रले आफू निकट सदस्यहरुउपर निगरानी राखिरहेको उपेन्द्र समूहका एक नेताले बताए ।

ठाकुर समूहका कुनै पनि नेतासँग सम्पर्क गर्न निषेध गरिएको छ, खान बस्न लगायतका सबै प्रवन्ध उपेन्द्रले गरेका छन् । कोही पनि हलचल गर्न नपाउने गरी निगरानी राखिएको उनले बताए । यद्यपि भोलि सर्वाेच्चको सुनुवाइप्रति उपेन्द्र समूह आत्तिएको अवस्थामा छ । वैधानिक निर्णयलाई निर्वाचन आयोगले नमानेर अघि बढेपछि सर्वाेच्चले अंकुश लगाउनसक्ने अवस्थासमेत रहेकोले उपेन्द्र समूह विशेष रुपले चिन्तित अवस्थामा रहेको देखिएको छ । जसपा नेता झाले सर्वाेच्चप्रति विश्वास कायम रहेको र न्याय पाउने आशा जीवितै रहेको बताए ।

स्मरणीय छ, उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी विभाजन हुने बेला सादा कागजमा सहीछाप गर्न तयार उपेन्द्रको पार्टीलाई ठाकुरले नै बचाइदिएका थिए । मध्यरातमा राजपासँग एकीकरण गरेर ठाकुर उपेन्द्रको पार्टी मात्रै बचाएनन् उपेन्द्रलाई राजनीतिक जीवनदानसमेत दिएका थिए । तर उनै उपेन्द्रले अहिले विश्वासघात गर्न लागेको पार्टीभित्र चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्