‘निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपर्ने गरी विशेष तदारुकता बढाऔं’



काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन् । निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार ट्वीट गर्दै प्रवक्ता शर्माले आफ्नै दलका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्ण गराएका हुन् ।

निर्मलालाई न्याय दिनुका साथै कसैले पनि यस्तो नियति भोग्न नदिन विशेष तदारुकता बढाउन शर्माले सरकारसँग आग्रह गरेका छन् । प्रतिपक्षी हुँदा उठाएको प्रश्नको जवाफ दिने ठाउँमा पुगेको संकेत गर्दै प्रवक्ता शर्माले लेखेका छन्, ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो । सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

अब गहन दायित्व निभाउनुपर्ने बेला आएको उल्लेख गर्दै उनले बालबालिका तथा महिला हिंसा, बलात्कार र हत्याको अनेक घटना भइरहेको भन्दै नियन्त्रणका लागि राज्य कठोर बन्नु पर्ने बताएका छन् । २०७५ साल साउन १० गते गृहकार्य गर्न साथीकोमा जान्छु भन्दै घरबाट हिँडेकी भीमदत्त नगरपालिकाकी निर्मला पन्तको भोलिपल्ट उखुबारीमा सव भेटिएको थियो । तर, उनको हत्या भएको तीन वर्ष पुगिसक्दा पनि दोषीको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्