कोभिडको तेस्रो लहरविरुद्ध तयारी थाल्ने केन्द्रीय सुरक्षा समितिको निर्णय



काठमाडौ । गृहमन्त्रालय मातहतको केन्द्रीय सुरक्षा समितिको बैठकले कोभिड तेस्रो लहर बढ्ने सम्भावना उच्च देखिएकोले त्यसको तयारीमा जुट्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले कोभिड तेस्रो लहर बढ्ने सम्भावना उच्च देखिएको र यसलाई रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । बैठकले योसहित ४ बुँदे निर्णय गरेको छ।

बैठकले स्वास्थ सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारीलाई नियन्त्रण गर्ने निर्णयसमेत गरेको छ। बाढीपहिरो र डुबानमा परेका समुदायलाई राहत र उद्दार तथा खाद्य सामग्री सहजीकरण गर्न हेलिकप्टरको ब्यबस्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ भने पछिल्लो समय साइबर क्राइमका घटना बढिरहेकाले त्यसलाई नियन्त्रण र व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ।

बैठकमा गृहसचिव महेश्वर न्यौपाने ,नेपाली सेनाका रथी प्रभुराम शर्मा ,प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ,राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेशप्रसाद अधिकारी, रक्षा मन्त्रालयका कामु सचिव आलोकचन्द्र श्रेष्ठ ,गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल लगायत उपस्थित रहेको थियो

प्रतिक्रिया दिनुहोस्