उपेन्द्रको पक्षमा ३४ जनाको सनाखत, आजै निर्णय आउनसक्ने




काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षमा रहेका कार्यकारिणी समिति सदस्यहरुको निर्वाचन आयोगमा सनाखत सुरु भएको हो ।

अध्यक्ष यादवसहितका सदस्यहरु पुगेर सनाखत गरिसकेका छन् भने केही पुग्दैछन् । ठाकुर पक्षमा रहेका मनिष सुमन, उमाशंकर अरगरिया लगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा पुगिसकेका छन् । ठाकुर पक्षमा रहेका सुमनले यादव पक्षमा सनाखत गरेका छन् । दुवै पक्षको सनाखत सकिएपछि निर्वाचन आयोगको इजलासमा सनाखत पेश गरिनेछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी समिति सदस्यहरुको ‘हेड काउन्ट’ सुरु भएको जानकारी दिदै सनाखत सकिएपछि इजलासमा पेश हुने बताए । जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै आउन पनि सक्ने उनले बताए ।

सनाखत सुरु हुनु्अघि ठाकुर समूहले हेड काउन्ट रोक्न आयोगमा निवेदन दिएका थिए । हेड काउन्टविरुद्ध परेको रिट निवेदन सर्वाेच्च अदालतमा विचाराधीन रहेको र साउन १५ गते अन्तरिम आदेश दिने नदिने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको भन्दै ठाकुर समूहले आयोगमा निवेदन दिएको थियो । तर आयोगले अन्तरिम आदेश नभएको भन्दै खनाखत रोक्न अस्वीकार गरेको छ ।

सनाखत गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जनाले आफ्नो पक्षमा हस्ताक्षर गरिसकेका बताएका छन् । उनले पार्टी विभाजन नभएको तर केही साथीहरु बाटो बिराएर अन्यत्र गएको बताउँदै सार्वजनिक आलोचनासहित पार्टीमा आए स्वीकार गर्नसकिने बताए ।

सर्वाेच्च अदालतले साउन १५ गते अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ, त्यतिञ्जेल पर्खन्छौ, सर्वाेच्चको आदेशपछि बाटो तय गरौला, ठाकुर पक्षका जितेन्द्र सोनले भने–तत्काल हामी अल्पमतमा छौ, हेरौ के के हुन्छ ।

प्रतिक्रिया दिनुहोस्