‘अल्पमतमा परे पनि आत्मबल कमजोर भएको छैन’



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का नेता शरतसिंह भण्डारीले अल्पमतमा परेपछि कुनै पनि किसिमले आत्मबल कमजोर नभएको प्रतिक्रिया दिएका छन् ।

निर्वाचन आयोगमा सनाखत गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भने–‘हिजो बहुमतमा थियौं, आज अल्पमतमा पर्यौ, पुनः बहुमत हुनसक्छ, राजनीतिमा यो प्रक्रिया चलिरहन्छ ।’ जसपाको आधिकारिता विवादमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव समूहबीच भएको सनाखतमा ठाकुर पक्षमा १६ र यादव पक्षमा ३४ जनाले सनाखत गरेका छन् । जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय छ । रेशम चौधरीले सनाखत गरिसकेका छैनन् ।

आफूहरुको पक्षमा १६ जनाले हस्ताक्षर गरेको र विचारको राजनीतिकका लागि यो संख्या काफी भएको उनले बताए । पार्टीभित्र दुइटा विचार आएको र त्यसका आधारमा पार्टीको आधिकारिताको लडाइँ चलेको भन्दै उनले भने, ‘हामीले यसलाई निष्ठाको सनाखतका रुपमा लिएका छौं ।’
केही नेताले रातारात कित्ता परिवर्तन गरेको भन्दै उनले भने, ‘हिजोसम्म एउटा पक्षको बैठकमा सहभागी हुने, आज अर्कोतिर पुग्ने । यसको इतिहासले मूल्यांकन गर्छ ।’

पार्टी विभाजन कसैको माग नभएको उनले बताए । उपेन्द्र यादवहरुसँगै बस्नुहुन्छ भन्ने प्रश्नमा भण्डारीले भने, ‘निर्वाचन आयोगको कोर्टमा बल छ । आयोगले आधिकारिकता भनेको छ, त्यो प्राप्त भएपछि के निर्णय गर्छ, हेरौं, सर्वाेच्चमा पनि विचाराधीन छ केही समय पर्खन्छौ ।’ तर उपेन्द्र यादवले आत्मालोचना गरेर आए मात्र विचार गर्ने बताएका छन् नि भन्ने प्रश्नमा भण्डारीले भने उत्पीडनमा परेकाहरुको आन्दोलनलाई बलियो बनाउन र उपेन्द्र यादवलाई उद्धार गर्न पार्टी एकता गरेको बताए । माग–मुद्दा अघि सारेर सरकारलाई समर्थन गरेको भन्दै उनले भने, ‘हामी माग–मुद्दामा अडेका छौं । न हामीले कहिल्यै गलत काम गरेका छौं, न आत्मग्लानी छ ।’

प्रतिक्रिया दिनुहोस्