तटस्थ बसे रेशम चौधरी, भने–‘पार्टी एकताको पक्षमा छु’



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा सनाखतका लागि उपस्थित भएका उनले कुनै पक्षमा सनाखत नगर्ने बरु पार्टी एकताको पक्षमा रहेको बताए ।

उनले आफ्नो एकमात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताए । ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ उनले भने ।

डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य तथा प्रतिनिधि सभा सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका थिए । जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो । डिल्लीबजार कारागारमा रहेका चौधरी सनाखत गर्न आयोग पुगेका हुन् । आयोगमा पुगेपछि सांसद चौधरीले सर्वप्रथम पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग सल्लाह गर्ने र त्यसपछि सनाखत गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्