अमेरिकी सैनिकहरूले यस वर्षको अन्त्यसम्ममा इराक छाडिसक्ने



अमेरिकी सैनिकहरु यो वर्षको अन्त्य (सन् २०२१) सम्ममा इराकबाट फिर्ता हुने भएका छन् । राष्ट्रपति जो बाइडेनले युद्धमा अमेरिकी सैनिक वर्षको अन्त्यसम्ममा इराकबाट फिर्ता हुने घोषणा गरेका हुन् ।

युद्धमा खटिने सैनिक फिर्ता भए पनि इराकी सेनालाई तालिम तथा सल्लाह प्रदान गर्ने प्रयोजनमा खटिएका अमेरिकी सैनिक अधिकारी भने कायम रहने छन् । अमेरिकाले इराकी सैनिकलाई तालिम तथा आवश्यक सरसल्लाह भने प्रदान गरिरहने राष्ट्रपति बाइडेनले बताएका हुन्। राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँगको वार्तापछि बाइडेनको यस्तो घोषणा आएको हो ।

इराकी सैनिकलाई इस्लामिक स्टेट (आइएस) सँगको युद्धका लागि सहयोग गर्न अहिले २५ सय अमेरिकी सैनिक इराकमा छन् । अहिले युद्धमा खटिने सैनिकहरु वर्षको अन्त्यसम्म फिर्ता हुने छन् । इराकमा हुने अमेरिकी सैनिकको संख्या लगभग उस्तै रहे पनि उनीहरु युद्धमा खटिने छैनन्, मात्रै इराकी सैनिकलाई तालिम र सरसल्लाह प्रदान गर्ने छन् । गएको वर्ष अमेरिकाको ड्रोन आक्रमणमा इरानका सैनिक जनरल कासिम सुलेमानी र इरानको साथ पाएको शिया बिद्रोही समूहका नेता मारिएपछि इराकमा अमेरिकी सैनिकको उपस्थिति प्रमुख मुद्दा बन्दै आएको छ।

इरानसँगको सहकार्यमा जोड दिने इराकका राजनीतिक दलहरुले आइएसविरुद्धको युद्धका लागि भन्दै खटिएका अमेरिकी सैनिक फिर्ता हुनु पर्ने माग गर्दै आएका छन् । इराकी प्रधानमन्त्रीसँगको छलफलपछि राष्ट्रपति बाइडेनले युद्धमा खटिने सैनिक फिर्ता हुने घोषणा गरेका हुन्। अमेरिकाले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा सुरु भएको अर्को युद्ध पनि अन्त्य गर्ने भएको छ।

यसअघि राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेका थिए । अहिले सो प्रक्रिया जारी छ । अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुने छन् ।

प्रतिक्रिया दिनुहोस्