एकदिवसीय सिरिज अष्ट्रेलियालाई



एजेन्सी । अष्ट्रेलियाले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले सिरिज २-१ ले आफ्नो बनाएको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३० ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेडले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान एलेक्स केरीले ३५ रन जोड्दा मिचेल मार्शले २९ रन जोडे । एस्टन अगर १९ रनमा अविजित रहे । वेस्ट इन्डिजका शेल्ड्रोन कोट्रेल, अकिल हुसेन र हेडेन वेल्सले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४५ ओभर १ बलमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि डरेन ब्राभोले १८ रन जोड्दा अल्जारी जोसेपले १५ रन बनाए । शाइ होपले १४ र कप्तान केइरन पोलार्डले ११ रन जोडे । वेस्ट इन्डिजलाई सस्तैमा मिचेल स्टार्कले ३ विकेट लिए । जोस हाजलउड,एस्टन अगर र एडम जाम्पाले २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्