माओवादी पूर्व नेताहरुको रिट न्यायाधीश कार्कीको इजलासमा



काठमाडौं : निर्वाचित भएको दल माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेका चार नेताले सांसद् पद पुनर्बहालीको मागसहित परेको रिट निवेदन न्यायाधीश दीपककुमार कार्कीको इजलासमा परेको छ ।

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कार्कीको एकल इजलासमा त्यो रिट निवेदन चौथो देखि सातौं नम्बरमा परेको छ । तीन वटा अन्य रिट निवेदनको सुनुवाइ सकिएपछि पूर्व माओवादी नेताहरुको रिटमा सुनुवाइ प्रारम्भ हुनेछ ।

माओवादी केन्द्रका पूर्व नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद् पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग अलग भएपछि उनीहरू माओवादी छाडेर केपी शर्मा ओली नेतृत्वको एमालेमा लागेका थिए ।

त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै माओवादीले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारवाही गरेको थियो ।भट्ट कैलाली क्षेत्र नम्बर ४, रायमाझी अर्घाखाँची, साह रौतहट ३ र चौधरी कैलाली ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम तथा रोजगार मन्‍त्री थिए ।

प्रतिक्रिया दिनुहोस्