विद्युत कटौतिको विरोधमा स्थानीयले गरे राजमार्ग अवरुद्ध



सर्लाही । बारम्बार विद्युत् कटौती गरेको भन्दै सर्लाहीका स्थानीय आन्दोलित बनेका छन । विद्युत कटौतीसँगै कम भोल्टेजले आजित भएका स्थानीयले आज हरिवनमा प्रदर्शन गरेका हुन । विद्युत् प्राधिकरणको लापरबाहीविरुद्ध पूर्वपश्चिम राजमार्गमा १० मिनेट चक्काजाम गर्दै स्थानीयले नाराबाजीसहित प्रदर्शन गरेका छन ।

सर्लाहीमा एक घण्टामै चार(पाँचपटक विजुली जाने समस्या छ। लामो समयदेखिको यो समस्या समाधानमा प्राधिरणले चासो नदिएपछि बाध्य भएर सडकमा उत्रनुपरेको स्थानीयले बताएका छन्। सर्लाहीमा अघोषित लोडसेडिङको रुपमा रहेको विद्युत् कटौती र कम भोल्टेज आउने समस्या तत्काल समाधान गर्न माग गर्दै स्थानीयले विद्युत प्राधिकरणको लालबन्दी प्रशाखालाई ज्ञापनपत्रसमेत बुझाएका छन्। समस्या समाधानमा चासो नदिए प्राधिकरणविरुद्ध चरणवद्ध संघर्षमा उत्रने चेतावनीसमेत स्थानीयले दिएका छन्।

प्राधिकरण लालबन्दी प्रशाखाका प्रमुख सुधिर रायले भने ढल्केवर ग्रीडको सवस्टेशनको ३० एमविए पावर ट्रान्सफरमर बिग्रेको कारण सर्लाहीको विद्युत आपुर्तीमा समस्या आएको बताए। ढल्केवर ग्रिडमा समस्या आएपछि हाल सर्लाहीमा रौतहटको चन्द्रनिगहापुर ग्रिड सवस्टेशनबाट विद्युत आपुर्ती हुँदै आएको छ। जसको कारण सर्लाहीमा भोल्टेजको समस्या भएको उनले बताए।

‘ढल्केवरको बिग्रेको ट्रान्सफर्मर मर्मत गर्न अझै करिब १५ दिन जति लाग्ला,’ उनले भने, ‘त्यतिन्जेलसम्म सर्लाहीमा विद्युत् आपुर्तीमा केही समस्या रहिरहन्छ। हामी जतिसक्दो चाँडो यो समस्या समाधान गर्ने कोसिस गरिरहेका छौँ।’प्राधिकरणले गएको मंगलबारै सूचना जारी गरेरसमेत विद्युत् आपुर्तीमा भइरहेको समस्याको विषयमा जानकारी गराएको थियो।

प्रतिक्रिया दिनुहोस्