एमालेको विघटित कार्यदलको बैठकमा अझै जुटेन सहमति



काठमाडौं : नेकपा (एमाले)को विघटित कार्यदलका नेताहरूबीचे आज भएको छलफल पनि निष्कर्षविहीन बनेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको स्थायी कमिटी बैठकअघि कार्यदलका सदस्यहरु छलफल गरेका थिए ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा कुनै सहमति हुन नसकेको एक नेताले बताए । उनले भने–‘हामी निरन्तर सम्पर्क र छलफलमा छौं, पार्टी एकताका पक्षमा निरन्तर लागिरहेकै छौं, हाम्रो प्रयास जारी छ।’ ‘पार्टीलाई कसरी एकतावद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्‍यौं,’ नेता गोकर्ण बिष्टले भने, ‘हामीले कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ, यसबीचमा देखापरेका कतिपय समस्या र अविश्वास पनि हामीले थप प्रयत्नमार्फत समाधान गर्नुपर्छ भन्ने हिसाबले छलफल गर्यौं।’

एकतामा धेरै ढिला हुँदा पार्टीमा क्षति पुग्ने बताउँदै उनले भने, ‘धेरै ढिला गर्दा यसले पार्टीमा एकपछि अर्को क्षति पुग्छ भन्ने ढंगबाट छलफल भएको छ।’ अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट किन हुन सकेन भन्ने प्रश्नमा उनले आफूहरुको प्रयत्न जारी रहेको बताए। ‘१० बुँदे सहमति र दुईटा अध्यक्षको जुन प्रसँग चलेको छ, यसलाई मुख्य आधार बनाएर हामीले छलफल गरेका छौं। भेटघाटका लागि निरन्तर पहल भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्