देउवा सरकारमा नजाने नेपाल पक्षको निर्णय, पार्टी एकताको प्रयास जारी राख्ने निष्कर्ष



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बसेको बैठकले देउवा सरकारमा नजाने र एमाले एकताका लागि कार्यदलस्तरमा छलफललाई निरन्तरता दिने निर्णय गरेका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

बैठकले एकताको विकल्प बाँकी रहेकाले एकता प्रयास जारी राख्ने समझदारी गरेको छ । हालै एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालविरुद्ध दिएको अभिव्यक्तिलाई बैठकले एकताविरोधी भएको ठहर गरेको छ । ओलीले नेपाललाई आन्दोलनविरोधी र देशद्रोही भएको अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष ओली पक्षले एकतर्फी रूपमा पार्टी बैठक राखेर निर्णय गर्नु एकता विरोधी भएकाले यस्ता कार्य बन्द गर्नुपर्ने निष्कर्ष समेत बैठकले निकालेको ज्ञवालीले बताए । यस्तै वरिष्ठ नेता नेपाल अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि ‘तयार’ भएका छन्। ओलीले भेट्न खोज्दा पनि ‘अस्वीकार’ गर्दै आएका नेपाल पछिल्लो समय भने भेटका लागि तयार भएका हुन्।

नेपाल पक्षीय स्थायी कमिटी सदस्य रघुजी पन्तले अध्यक्ष ओली र नेपालबीचको भेटवार्ता छिट्टै हुने बताए। पन्तले २ नेताबीच भेटवार्ता हुने मिति भने खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस्