न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तीन शीर्ष नेताबीच सहमति



काठमाडौँ : सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मा मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सोमबार बालुवाटारमा भएको छलफलमा मंगलबारसम्म न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको हो ।

आज बसेको गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम छिट्टै तयार गरिने र त्यसपिछि मन्त्रीमण्डल विस्तार गर्ने सहमति जुटेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनले भने,‘न्यूनतम साझा कार्यक्रम चाँडै बनाएर जाने विषयमा सहमति बनेको छ ।’ मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा समेत सामान्य छलफल भएको उनले बताए ।

अध्यक्ष यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने टुंगो एक दुईदिनभित्र लाग्ने समेत बताए । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको हो । गठबन्धनमा रहेका दलले गठन गरेको कार्यदलले भोलि सरकारको न्यूनतम साझा कार्यक्रमबारेको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

कांग्रेस महामन्त्री खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले मस्यौदामाथि छलफल गरिरहेको छ । हामी भोलि साँझसम्म प्रतिवेदन बुझाउँछौं,’ उनले भने, हामीले धेरै विषय टुंग्याइसकेका छौं ।’कार्यदलमा कांग्रेसबाट खड्कासहित नेता रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षामान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्