मनाङलाई स्थलमार्गसँग जोड्न सडक निर्माण



मनाङ : लामो समयदेखि सडक सञ्जालबाट विच्छेद बनेको मनाङलाई जोड्न सडक डिभिजन कार्यालय लमजुङले काम थालेको छ । गत असार १ गते आएको बाढीपहिराले डुम्रे–बेँसीशहर–खाङ्सार सडकको करिब ८० प्रतिशत खण्डमा क्षति पुगेको छ ।

क्षति पुगेको सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउनका लागि स्थानीय तह, प्रदेश र सङ्घ सरकारसँग पहल गर्दै मनाङका जनप्रतिनिधिले मर्मतको काम गरिरहेका छन् । सम्बन्धित निकायबीच समन्वय गरी मनाङलाई सडक सञ्जालसँग जोड्न लागिपरेको प्रतिनिधि सभा सदस्य पाल्देन छोपाङ गुरुङले बताए । उनका अनुसार जनप्रतिनिधि विपद्मा परेका स्थानीयवासीको उद्धारसँगै सडक सञ्जालसँग जोड्न लागिपरिरहेका छन् । “मैले सडक नै प्रमुख आवश्यकता मानेको छु, स्थानीय तहदेखि केन्द्रसम्म गरेको प्रयासले सार्थकता पाउँदै आएको छ, केही ठाउँमा सडक पुनः सञ्चालन गर्न सकिएको छ, अब एकदम अप्ठ्यारो ठाउँमा कसरी बाटो खुलाउने र बाटोलाई कसरी दिगो बनाउने भनेर सडक विभागलगायतका सम्बन्धित निकायहरुसँग समन्वय गरिरहेको छु”, सांसद गुरुङले भने ।

जिल्लाकै ‘लाइफलाइन’का रूपमा रहेको सडकखण्ड अवरुद्ध हुँदा मनाङवासीलाई दैनिकी चलाउन धौ–धौ भएको छ । बाढीपहिराका कारण घरवारविहीन बनेका यहाँका बासिन्दालाई एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न समेत कठिनाइ छ । साथै जिल्लामा आवतजावत गर्न सहज वातावरण तयार गर्नुपर्ने अवस्था छ । यसका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरकारको सहकार्यमा काठे पुल, फड्के र गोरेटो बाटो निर्माण गरी मानिसको आवागमन केही हदसम्म सहज बनाइएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । उनका अनुसार सदरमुकाम चामेको पक्की पुल थुनिँदा बाढीको कटानले सामुदायिक तथा व्यक्तिगत संरचनामा क्षति पुगेको थियो । हाल नदीको धार पहिलाकै अवस्थामा फर्काइएपछि दुई गाउँपालिकाबीच आवतजावत भएको छ । “बाढीपहिरोका कारण जनतासँगै म पनि त्रिपालमुनि बसेर सहयोग गरिरहेको छु, दुःखसुखमा स्थानीय सरकार अभिभावकका रूपमा रहेको आभास गराउने प्रयासमा लागिपरेको छु”, अध्यक्ष घलेले भने ।

प्रतिक्रिया दिनुहोस्