छानबिन टोली दार्चुलामा, भारतलाई पत्राचार : गृहमन्त्री



काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदीमा तुइन तर्दा बेपत्ता जयसिंह धामीका विषयमा गठित छानबिन टोली दार्चुला पुगेर छानबिन सुरु गरेको र १० दिनभित्र प्रतिवेदन आइपुग्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सभामुखसँग सार्वजनिक महत्त्वका विषयमा बोल्न समय माग गर्दै उनले घटनाबारेमा जानकारी गराएका छन् । दार्चुलाको ब्यास गाउँपालिका मालघाटमा साउन १४ गते जयसिंह धामी महाकाली नदीमा तुइनबाट नदी तर्ने क्रममा ज्यान गएको भन्दै उनले नरेन्द्रसिंह धामी लगायत तीन जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको उल्लेख गरे ।

घटनालगतै सशस्त्र प्रहरी नायव निरीक्षक बृर्जसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द, राष्ट्रिय अनुसन्धान दार्चुलाका विक्रमसिंह भाट सहित ३ जनाको टोली स्थलगत छानबिनका लागि घटनास्थल खटिएको र जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई सो घटनाबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको पनि गृहमन्त्री खाँणले जानकारी गराएका छन् ।

बहादुरसिंह धामी, गौरासिंह धामी लगायत चार जना जयसिंह धामीभन्दा अगाडि नै तुइन तरी पारी पुगेकाहरूसँग जानकारी लिने काम भइरहेको उनको भनाई छ । पुल तर्न बाँकी रहेका चार जनालाई जिल्ला सदरमुकाम बोलाई जानकारी लिने काम भइरहेको उल्लेख गर्दै उनले दार्चुलामा रहेका विभिन्न सुरक्षा अङ्ग तथा भारतीय सुरक्षाकर्मी एसएसबीको तर्फबाट पनि बेपत्ता भएको धामीको खोजको काम भइरहेको बताए ।

साउन १७ गते मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र दार्चुलाका सहायक जिल्ला अधिकारी जोत्सना भट्ट सम्मिलित छानबिन समिति गठन गरेको र समितिले आउँदो १० दिनभित्र प्रतिवेदन बुझाउने जानकारी खाँणले दिए ।

प्रतिक्रिया दिनुहोस्