आचार्य बालकृष्णको जन्मोत्सवमा वृक्षरोपण



काठमाडौं : जडीबुटीको अध्ययन र अनुसन्धानमा लागेका आचार्य बालकृष्णको जन्मोत्सव आज सातै प्रदेशमा विभिन्न जडीबुटीका बिरुवा रोपेर मनाइँदै छ । स्याङ्जा जिल्लामा जन्मेका उनले भारतमा योग एवं आयुर्वेदको प्रचारप्रसारमा योगदान पुर्याएका योग गुरु रामदेवसँग सहकार्य गरी जडीबुटीका औषधि बनाउन सहयोग गर्दै आएका छन् । नेपालका सबैजसो जिल्लामा खुलेका पतञ्जलि योग समितिमार्फत योग र आयुर्वेदको प्रचारप्रसारमा पनि आचार्य बालकृष्णको योगदान छ ।

यस अवसरमा पतञ्जलि समितिले देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । आजका दिनलाई जडीबुटी दिवसका रुपमा मनाउनाका साथै सात प्रदेशका ३५ जिल्लामा गुर्जो, पत्थरचट्टा, बाह्रमासे फूल, पारिजात, लेमनग्रास, तुलसीलगायत जडीबुटी रोपण गरिने अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए ।

सो अवसरमा गुर्जोको चिया र यसबाट बनेको धुलो औषधि पनि निःशुल्क वितरण गरिने जनाइएको छ । बुधबार एक हजार पाँच सय यस्ता जडीबुटीजन्य बिरुका रोप्नका लागि पठाइएको उनले बताउनुभयो । यसैगरी समितिले पनि अरू थप जडीबुटीका बिरुवा रोप्ने भएको छ । प्रत्येक वर्ष अगष्ट ४का दिन आचार्य बालकृष्णले जन्मोत्सव मनाउने गर्नुभएको जनाइएको छ । यस वर्ष आजका दिन कामिनी एकादशी व्रत पनि परेकाले विशेषरुपमा तुलसी रोपणलाई प्राथमिकता दिइएको गुर्जो अभियानकर्मी राजलवटले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्