केन्द्रीय कमिटीको एजेण्डा तय गर्न माधव समूहको स्थायी कमिटी बैठक सुरु



काठमाडौँ : विभाजनको डिलमा पुगेको नेकपा एमाले माधव नेपाल पक्षको स्थायी कमिटी सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने नेता रघुजी पन्तले जानकारी दिए ।

उनका अनुसार स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने छ । एमालेलाई एकताबद्ध बनाउन दोस्रो तहका नेताहरू सक्रिय छन् । तर, दुई पक्षबीच समझदारी भने जुटिसकेको छैन । कार्यदलले १० बुँदे सहमति जुटाएपनि त्यसलाई वरिष्ठ नेता नेपालले नमान्ने घोषणा गरेका थिए ।

नेपालले अस्वीकार गरेपछि उनी पक्षीय कार्यदलका सदस्यहरू अप्ठ्यारोमा परेका छन् । माधव समूहका कार्यदल संयोजक रहेका भीम बहादुर रावलले १० बुँदे सहमतिलाई टेकेरै पार्टीलाई एकताबद्ध बनाउनु पर्ने बताउँदै आएका छन् । तर, नेपाल भने त्यसमा सहमत छैनन् ।

नेपाल समूहको केन्द्रीय कमिटी बैठकले एमालेलाई नै एकताबद्ध बनाउने वा नयाँ पार्टी गठन गरेर अघि बढ्ने भन्ने विषयमा आधिकारिक धारणा बनाउने नेताहरूले बताएका छन् । नेपाल समूहका तेस्रो र चौथो तहका नेताहरूले अध्यक्ष केपी ओलीसँग एमालेमै रहेर अघि बढ्न नसक्ने भन्दै नयाँ पार्टी बनाउनु पर्ने दबाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्