कर्णाली साहित्य समाजद्वारा चार स्रष्टा सम्मानित



सुर्खेत : कर्णाली साहित्य समाजले संरक्षकको रुपमा कथाकार महेशविक्रम शाहलाई सम्मान गरेको छ। सम्मान ग्रहणपछि कथाकार शाहले भने, ‘कर्णालीको वाङ्मयको श्रीवृद्धि गर्न ठोस परिणाम आउने काम गर्न आवश्यक छ।’ कर्णाली साहित्य समाजको संस्थागत उत्थानका लागि आफ्नो तर्फबाट रचनात्मक कार्यमा सदैव लाग्ने प्रतिबद्धता गर्छु ।’ 

शाहका ७ वटा कृति प्रकाशित छन्। उनको  ‘छापामारको छोरो’ नामक कृतिले २०६३ सालमा मदन पुरस्कार पाएको थियो।  कर्णाली प्रदेश योजना आयोगका सदस्य समेत रहेका साहित्यकार डा दीपेन्द्र रोकाया, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव तथा प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष प्राडा जीवेन्द्र देव गिरी र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा। जगतप्रसाद उपाध्यायलाई पनि कर्णाली साहित्य समाजले एउटै मञ्चमा सम्मान गरेको छ। 

कर्णाली साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान एवम् विशेष रचनावाचन कार्यक्रममा पुगेका कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललेले गौरवमय इतिहास बोकेको कर्णाली प्रदेशको कला, साहित्यले सिंगो राष्ट्रको विषयलाई बोक्न सक्नुपर्ने बताए।

उनले भने, ‘राजनीतिले विकास र साहित्यले विवेक दिनुपर्छ। राजनीतिको सही मार्गनिर्देशक साहित्य हो।’ आउँदो आर्थिक वर्षमा सिंजामा साहित्यिक महोत्सव गरेर कर्णाली प्रदेश सरकार साहित्यिक यात्राका लागि कोसेढुङ्गा बन्न तयार छ।’उनले थपे, ‘रचनात्मक र सकारात्मक रुपमा अघि बढे साहित्यले समाज परिवर्तन गर्न सक्छ भन्ने कुरामा विश्वस्त छु।’ कर्णालीबाटै नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म पु-याउनको लागि सबैले आ–आफ्नो तह तप्काबाट हातेमालो गर्न जरुरी भएको मन्त्री रावलले बताए। 

शुभकामना मन्तव्यका क्रममा सम्मानित स्रष्टा डा। रोकायाले कर्णालीको सभ्यता जोगाउन आवश्यक भएको बताउँदै यथार्थ धरातलमा उभिएर नयाँ आयाम दिने आधार निर्माण गर्न सके साहित्यमार्फत कर्णालीको विकास गर्न सकिने बताए। विशेष रचनावाचनअन्तर्गत गजलकार विष्णु महतारा, सीता यरी, लीला पोख्रेल र सन्देश कठायतले गजल वाचन गरेका थिए।  

प्रतिक्रिया दिनुहोस्