कुलमानको कमब्याकले ल्याएको उल्लास !



काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनरागमणसँगै आमजनमानसमा एउटा छुट्टै उल्लास देखिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय हो । यसअघि उनी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ २९ गते प्राधिकरणबाट विदा भएका थिए । त्यो चार वर्षे कार्यकालभित्र उनले हिउँदको सयमा हुने १८ घण्टासम्मको लोडसेडिङबाट मुलुकलाई मुक्त गराएर एउटा कुशल प्रशासकका रुपमा आफूलाई देश र जनताकासामू प्रमाणित गरेर देखाइसकेका थिए ।

कुलमानको त्यो ऐतिहासिक कर्मबाट प्रभावित जनता उनको बहिर्गमनमा खुशी हुने कुरै भएन । उनको पुनः नियुक्ति माग गर्दै जनता सडकमा नउत्रिएका पनि होइनन् । तर केपी ओली नेतृत्वको तत्कालिन सरकारले जनआवाजलाई दबाएर प्राधिकरण प्रमुखमा हितेन्द्रदेव शाक्यलाई नियुक्त ग¥यो ।

प्राधिकरणको एघारौं तहका कर्मचारीको रुपमा कार्यरत कुलमानलाई तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले २०७३ भदौ २९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरषद्को बैठकबाट निर्णय गराएर प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याएका थिए । उनले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको दुई महिनामै लक्ष्मीपूजामा देशभर बत्ती नजाने व्यवस्था मिलाएका थिए । त्यसपछि उनीप्रति बढ्दै गएको जनविश्वास र उनकै कार्यकुशलताको फलस्वरुप त्यसको ४ महिनापछि घरायसी उपभोक्तालाई लोडसेडिङ नै नहुने घोषणा गर्न सफल भएका थिए ।

कुलमान कार्यकारी निर्देशकको जिम्मेवारीमा आएपछि मुलुक लोडसेडिङमुक्त मात्र भएन विद्युत प्राधिकरणको घाटाको यात्रा पनि अन्त्य भएको थियो । पछिल्लो वर्ष प्राधिकरण ११ अर्ब ६८ करोड नाफामा समेत गएको थियो । त्यसबखत प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्यो ।

तर कुलमानको विदाइसँगै प्राधिकरणमा प्रमुख बनेर शाक्य भित्रिएपछि त्यो नाफा क्रमंशः घट्दै अहिले तीन अर्बमा खुम्चिएको छ । लोडसेडिङयुक्त विगतलाई सम्झँदा मात्र पनि आज जनताको अनुहारमा अँध्यारोका धर्सा देखिन्छन् । कुलमान प्राधिकरणमा पहिलो पटक आउँदै गर्दा जलस्रोतको दोस्रो धनि देशले बत्ती बेच्नुपर्नेमा बाल्न पाउँदा पनि युद्ध जितेजस्तो गर्नुपर्ने अवस्था थियो ।

बत्ती कतिबेला आउँछ र खाना बनाउँला र खाउँला, मोटर चलाएर ट्ंयाकीमा पानी तानौंला, टेलिभिजन हेरौंला अनि मोवाइल चार्ज गरौंलाको अवस्थाबाट मुक्त भएर आज हामी २४ सै घण्टा उज्यालोमा रमाउने अवस्थामा छौं । यी सबै कुशल प्रशासक कुलमानको इमान्दारीता, लगनशीलता र कार्य कुशलताकै देन हुन् भन्दा कुनै दुई मत नहोला । त्यसो त एक व्यक्तिको क्षमता र इमान्दारीताबाट देश र समाज कहाँ पुग्न र कति फाइदा हुन्छ भन्ने कुरा कुलमानको कार्यकुशलताबाट पनि पुष्टि हुन्छ ।

कुलमानका विरोधी पनि नभएका होइनन् । हिजो लोडसेडिङ अन्त्य हुँदैगर्दा अर्बौंको व्यापार र करोडौँको आम्दानी चौपट भएकाहरुको रिस अहिलेसम्म पनि मरिसकेको छैन । इन्भर्टर, ब्याट्री, जेनेरेटर, चार्जिङ ल्याम्प, चार्जिङ सिएफएल बल्ब जस्ता सामानको वार्षिक अर्बौँको व्यापार गर्दै करोडौं कमाउँदै आएकाहरु अहिले पनि कुलमानको विरुद्धमै देखिन्छन् ।

कुलमानको क्रमभंगता चाहने व्यापारीहरुको ठूलो जमातकै कारण कुलमान जनताले चाहेर पनि झण्डै एक वर्ष प्रधिकरणबाहिर रहे । तर केपी ओली सरकारको बहिर्गमनसँगै आएको शेरबहादुर देउवा सरकारले कुलमानलाई ल्याएसँगै चौतर्फी सरकारको वाहवाही सुरु भएको छ भने कुलमानलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनेहरुको लर्को छ ।

पहिलो कार्यकाल सकिन लागेका बेला ‘कुलमानलाई नै विद्युत प्राधिकरणको प्रमुखमा दोहोर्‍याउने सरकारको निर्णय’ शीर्षकमा गएको भदौ ९ गते समाचार सार्वजनिक भयो । त्यसबेला सयौंका सामाजिक सञ्जाल कुलमानसम्बन्धी लेख र स्टाटसले भरिएका थिए । कुलमानको निरन्तरताको समाचार सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालहरुमा सरकारलाई धन्यवाद दिनेको जमात ठूलो थियो । तर पछि आएर त्यो समाचार गलत पुष्टि भयो । ‘सरकारको जनपक्षीय निर्णय, सरकारले जनभावनालाई कदर गर्‍यो, सरकारलाई सलाम’ लगायतका प्रशंसनीय शब्द त्यो दिन जनताले निकै खर्चिए । अहिले साँच्चिकै कुलमानको कमव्याक हुँदा त झन् यी शब्द छुट्नै कुनै भएन ।

ट्विटरमा ऋषिराज देवकोटाले कुलमानलाई उज्यालाका नायक भन्दै लेखेका छन्, ‘जनताले गाली मात्र होइन, राम्रो काम गर्नेलाई वाहवाही र जय जयकार पनि गर्छन् भन्नेकुरा नबिर्सौं । उज्यालोका नायक कुलमान घिसिङलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’

यसैगरी सञ्जीव अधिकारी सरकारलाई धन्यवाद र कुलमानलाई बधाई दिँदै लेख्छन्, ‘विद्युत प्राधिकरणमा कुलमान घिसिङ पुनः नियुक्ति हुनुभएकोमा हार्दिक बधाई छ । आफ्नो अनुभव र क्षमताको पूर्ण सदुपयोग गर्दै उज्यालो नेपाल अभियानलाई देशकै मुहार फेर्ने अभियानमा सफल हुनुस्, राम्रो काम÷ अभियानलाई साथ हुनेछ । नियुक्ति दिने उर्जा मन्त्री र मन्त्री मण्डललाई धेरै बधाई छ ।’

निर्मल प्रसाईंले यसलाई सरकारको सकारात्मक कदम भन्दै यसले निरन्तरता पाउनुपर्नेमा जोड दिएका छन् । ‘कुलमान घिसिङ पुनः विद्युत प्राधिकरण प्रमुखमा नियुक्ति हुँदा देशभर हर्षोल्लास छाएको छ !’, उनले लेखेका छन्, ‘जनता यस्तै पोजेटिभ कामले खुसी हुने हुन्, मुखमा गाँस हाल्नु पर्दैन । धन्यवाद प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू, सकरात्मक कामले निरन्तरता पाओस् !’

नारायणी देवकोटाले लेख्छिन्, ‘कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउने निर्देशनको समाचारले मात्र पनि मन नै उज्यालो भयो !’ विपिन सापकोटा पनि शुभकामनाका शब्द खर्चिँदै लेख्छन्, ‘धेरै धेरै खुशीको खबर ः कुलमान घिसिङ विघुत प्राधिकरणमा नियुक्त भएका छन्, ४ वर्षे कार्यकालको धेरै धेरै शुभकामना ।’

वाहवाहीसँगै सामाजिक संजाल प्रयोगकर्ताहरुले सरकारलाई थप सचेत पनि गराएका छन् । लालबाबु भण्डारी सरकारप्रति आशंक व्यक्त गर्दै ट्विटरमै लेख्छन्, ‘अन्ततः कुलमान नियुक्त भएछन् । यो सरकारको राम्रो काम यही एउटा मात्र पो हुन्छ कि ?’ कुलमानको पुनःनियुक्तिलाई केहीले राम्राको पक्षमा जनताले बोलेका कुराको सुनुवाइ भएको भनेर अर्थयाएका छन् ।

प्रकाश न्यौपाने खेल्छन्, ‘कुलमानको पुनःनियुक्तिका धेरै अर्थ छन्, त्यो मध्ये मुख्य अर्थ हो, यो देशमा पनि राम्रो गर्नेहरुका लागि बोलिदिने नागरिकहरु पनि छन् र ती बोलीहरुको सुनुवाइ पनि हुन्छ । कुलमान निर्विकल्प होइनन्, तर देख्दै सम्मानको भाव आउने एकदमै कम विकल्प भएका मध्येका एक हुन् ।’ पार्वती धरेलले त कुलमानलाई देशको ‘हिरा’ भनेका छन् । एमसीसीसँग जोडेर उनीमाथि भएका नकरात्मक टिप्पणीप्रति आपत्ति जाउँदै उनी लेख्छिन्, ‘एमसीसीसँग जोडेर कुलमानको पुनरागमन लाई अतिरंजित र अनर्गल नगर्नु ! राजनैतिक नीति नियमसंग जोडिने कुराहरु एउटा प्राधिकरणको हाकिमको क्षेत्र भन्दा धेरै पर का हुन् ! मलाई यत्ति थाहा छ, कुलमान यो देशको हिरा हुन्, किरा बनाउन नखोज !’

कतिपयले व्याङ्ग्यात्मक शैलीमा पनि कुलमानको प्रशंसा गरेका छन् । स्वस्तिका गौतमले लेखेकि छन्, ‘अस्ति–अस्ति दिनभर जाने बत्ति हिजोदेखि किन गएन भन्छु, कुलमान दाजुको पुनरागमन भइसकेछ र पो !’ विष्णु ढकाल लेख्छन्, ‘झल्याकझुलुक अघोषित लोडसेडिङले बढाएको सन्त्रास फेरि कुलमान घिसिङको आगमनले हटेको छ !’ कुलमान निम्ती यस्ता प्रशंसाका शब्द त कति खर्चिएका छन् कति । यति हुँदाहुँदै पनि केहीले भने नकरात्मक टिप्पणी पनि गरेका छन् ।

गत वर्ष २६ माघमा नियुक्त भएका प्राधिकरणका हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाएपछि भएको कुलमानको पुनरागमनले सरकारको वाहवाही र आमसर्वसाधारणमा उल्लाष छाएको प्रष्टै देखिन्छ । यसलाई अब ऊर्जाका रुपमा ग्रहण गरेर यसअघिका आफ्ना सफलताका रेकर्डलाई नै महान सफलताले ब्रेक गर्नुपर्ने अर्को एउटा बडेमानको चुनौती कुलमानसामू छ । दत्तचित्त भएर यो चुनौतीको पनि सामना गर्न सके कुलमानले लोकप्रियताको अर्को शिखर चुम्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्