‘ए’ डिभिजन लिगमा आज थ्रीस्टार र शेर्पा भिड्दै



काठमाडाैँ : कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ । लिगको आठौ चरणको खेलमा आज थ्रीस्टार र  हिमालयन शेर्पा क्लब भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको एक मात्रै खेल अपरान्ह पौने ५ बजे सुरु हुने छ।

लिगमा शेर्पा तीन खेलयता अपराजित छ । उसले तीनै खेलमा शत प्रतिशत अंक जोडेको छ । थ्रीस्टार समेत पाँच खेलयता अपराजित छ । पछिल्लो खेलमा जावलाखेलविरुद्ध स्पष्ट तीन अंक हाँसिल गरेको थ्रीस्टार आफ्नो लय कायम राख्न चाहन्छ । थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठ र शेर्पाका युगल किशोर राई दुबै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छन् ।  थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । विश्वास श्रेष्ठको कप्तानीमा रहेको शेर्पा र विक्रम लामाको कप्तानीमा रहने थ्रीस्टार दुबैलाई राष्ट्रिय तथा युवा खेलाडीको भर छ ।

प्रतिक्रिया दिनुहोस्