१८ माघदेखि सुकुम्बासीको लगत संकलन गरिने, निवेदन बुझाउन ३५ दिनको समय



काठमाडाैँ : राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ ।आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने भएको हो ।

विभिन्न स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम १८ माघदेखि ३५ दिनभित्र निवेदन फाराम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेश गर्न आयोगले आह्वान गरेको छ ।

आफूले आबाद कमोत गरेको जग्गाको नाप नक्सा सम्बन्धित नापी टोली खटिए पश्चात गराउन पनि भनिएको छ । आयोगले यसअघि निवेदन दिइसकेकाहरूले निस्सा लिन र जग्गा नाप जाँच/चेकजाँच गराउन सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।

आयोगले इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, तनहुँ, नवलपरासी पूर्व,  नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुराका ६८ स्थानीय तहका सुकुम्बासीसँग निवेदन मागेको हो।  यसपछि थप  जिल्लाका स्थानीय तहका सुकुम्बासीसँग पनि आवेदन माग्ने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्