निर्माण व्यवसायीले साउन १ देखि सबै निर्माण कार्य ठप्प पार्ने 



काठमाडौं : सार्वजनिक खरिद नियमावलीका केही बुँदाविरुद्ध आन्दोलन शुरु गरेको नेपाल निर्माण व्यवसायी महासंघले साउन १ गतेबाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ ।  

नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध आन्दोलित महासंघले बुधबार राजधानीमा राष्ट्रिय भेलामार्फत साउन  १ गतेबाट निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको हो । 

त्यस्तै महासंघले नयाँ आन्दोलनका अन्य कार्यक्रम समेत सार्वजनिक गरेको छ । साउन १ अघिका लागि महासंघले नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

व्यवसायीले सरकारलाई आफ्नो इजाजत पत्र बुझाउने छन् । कार्यक्षेत्रमा कालोपट्टी बाँधी काम गर्नेछन् । साथै निर्माण उपकरणमा पनि कालो झण्डा राखिने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष रवि सिंहका अनुसार ७७ जिल्ला प्रशासन कार्यालय, प्रदेशमा मुख्य मन्त्रीको कार्यालय तथा केन्द्रमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा व्यवसायीहरुले धर्ना दिनेछन् । 

त्यस्तै सडकमा शान्तिपूर्ण र्याली निकाल्ने र पछि आ–आफ्नो हेभी उपकरणसहित प्रदर्शन गर्ने महासंघले जनाएको छ । यसैबीच जेठ १४ बाट थालिएको टेण्डर बहिष्कारको आन्दोलनलाई पनि महासंघले निरन्तरता दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्