प्रदेश २ को ७० प्रतिशत बजेट संघले आफ्नै नियन्त्रणमा राख्नु दुःखद : मन्त्री यादव



जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले ७० प्रतिशत बजेट संघीय सरकारले आफैँ राख्नु संघीयताको मर्म विपरित भएको बताएका छन् । 

जनकपुरधाममा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले प्रदेश र स्थानीय तहलाई १५ र १५ प्रतिशतमा बजेट विनियोजन गरेको बताए । उनले प्रश्न गरे, ‘बाँकी ७० प्रतिशत बजेट संघीय सरकारले आफैँ राख्नु संघीयताको मर्म हो?’ 

संघीय सरकारले यसपटक स–शर्त अनुदानमा पनि अन्याय गरेको उनले बताए । ‘गत वर्ष यो शीर्षकमा ९ अर्ब बजेट दिइएको थियो । तर, यस पटक ६ अर्ब मात्रै पठायो ।’ मन्त्री यादवले भने, ‘मैले गत वर्षभन्दा बढाएर यो शीर्षकमा बजेट पठाउँछ भन्ने विश्वास लिएको थिएँ । तर, घटाएर पठाइएको छ ।’

‘प्रदेश २ मा मात्रै ५४ लाख जनसंख्या रहेको छ ।  प्रदेश २ बाट मात्रै २५ देखि ३५  प्रतिशत राजस्व जम्मा हुने गर्छ । तर, बजेट जम्मा २ प्रतिशत दिने सोझै अन्याय हो’ उनले भने । 

‘प्रदेश २ मा न त जनसंख्याको अनुसार बजेट भयो न त राजस्व बुझाए अनुसार नै । कृषिको हव मानिएको प्रदेश २ को ७० प्रतिशत बजेट पनि संघले आफ्नै नियन्त्रणमा राख्नु दुःखद हो’ उनले भने, ‘संघीय सरकारको यस्तै रबैया चुप लागेर बस्दै नौ । ’

प्रतिक्रिया दिनुहोस्