मनाङमा सवारीबाट ११ लाख राजश्व



मनाङ : हिमाल पारीको जिल्ला मनाङमा यसवर्ष सवारी जाँचबाट ११ लाख ५६ हजार ५ सय राजश्व संकलन भएको छ। गतवर्ष जम्मा १ लाख ७५ हजार राजश्व सकलन भएको थियो।

बेँशीसहर चामे सडक खण्डमा मौसममा धेरै पर्यटक आउने हुँदा सवारी साधनको अभावमा एउटै सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्नुपर्ने बाध्यता रहेको छ। सवारी साधनको चाप बढेसँगै कारवाही बढेकोले राजश्व पनि बढेको छ।

यहाँ जम्मा दुईवटा ट्राफिक दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय मनाङ्का प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए। उक्त दरबन्दी सीमा प्रहरी चौकीको माताहतमा रहेको पनि उनले बताए।

प्रहरी सहायक निरीक्षक रामऔतार चौधारीका अनुसार विभिन्न शीर्षकमा राजश्व संकलन गरिएको हो। सवारी जाँच, सिट क्षमता भन्दा बढी यात्रु, सडक इजाजत बिना सवारी सञ्चालन जस्ता शीर्षकमा कारवाही गरेको उनले बताए।

कच्ची सडक र सवारी साधन पर्याप्त मात्रामा नहुँदा यहाँ आउने पर्यटकलाई सास्ती भएको छ। साना सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्दा दुर्घटनाको भय हुने हुँदा सवारी चालकलाई क्षमता भन्दा बढी यात्रु नराख्न अनुरोध गरेको प्रहरी नायब उपरीक्षक खत्रीले बताए।

प्रतिक्रिया दिनुहोस्