कांग्रेस सदैव जीवन्त पार्टीको रुपमा स्थापित रहन्छ: नेता कार्की 



इनरुवा : नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस सदैव जीवन्त पार्टीको रुपमा स्थापित भएकाे बताएका छन्  ।  सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार नेपाली कांग्रेस सुनसरीले वितेको ईद, बकरइद, करम पुजा, जितिया, विजयादशमी तथा आउँदै गरेको शुभदीपावली, नेपाल संवत १९३९ तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता कार्कीले सो कुरा बताएका हुन् ।

 

उनले नेपाली कांग्रेसले समयको चाप, जनताको भावना, देशको आवश्यकतालाई बुझेका कारण कांग्रेस सदैव जीवन्त पार्टीका रुपमा रहिरहने बताए । पुर्व अर्थमन्त्रीसमेत रहेका नेता कार्कीले कांग्रेसले सबै परिस्थितिलाई बुझेका कारणले तराई, हिमाल, पहाड लगायतका क्षेत्रमा रहेका सबै जनताको मन मष्तिष्क र झुपडीमा स्थिापित रहेको उल्लेख गरे ।

 

उनले काङग्रेसले स्थानीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा कम सिट ल्याएको विषयमा समिक्षा गर्नु आवश्यक रहेको बताए । उहाँले कांग्रेसलाई बलियो बनाउनका लागि सबैले आँखा र दिलबाट सकारात्मक सोच लिएर अगाडी बढ्नु अहिलेको आवश्यक्ता रहेको बताए ।

 

उनले नकारात्मक कुरा गरेर कदापी पार्टी बलियो हुन नसक्ने भएकाले सबैले सकारात्मक र सहि सोच लिएर अगाडि बढनु अहिलेको आवश्यक्ता रहेको बताए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री मिन विश्वकर्मा, पूर्व राज्यमन्त्री तथा प्रतिनीधिसभा सांसद सिताराम मेहता, प्रदेशसभा सांसद ज्योती सुब्बा, अगमलाल चौधरी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, दुहवी नगरपालिका प्रमुख बेद नारायण गच्छदार, देवानगञ्ज गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहता, कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता देवी यादव, पार्टीका जिल्ला उपसभापति हरीलाल मेहता, पार्टीका जिल्ला सचिव केदार भण्डारी, क्षेत्रीय सभापति श्यामलाल मेहता लगायतले बोलेका थिए । 

 

पार्टीका कोषाध्यक्ष पंकज महतोले आर्थिक प्रतिवेदन समेत पेश गरेका थिए । कार्यक्रम पार्टीका जिल्ला सभापति तथा १ नम्बर प्रदेशका संसदिय दलका नेता राजिव कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


पागल र चरीलाई नागरिक अभिनन्दन  

 

सुनसरी सदरमुकाम इनरुवा क्षेत्रमा रहेर कला र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने अग्रजद्वय उपेन्द्र पागल र चरी बा जिवनाथ पोखरेललाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको छ । 

 

सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाले शुक्रबार सदरमुकाम इनरुवामा एक कार्यक्रमको आयोजना गरेर पागल र चरी बालाई नागरिक अभिनन्दन गरेको हो । पागल र चरी दुवै प्रा.डा.हुन ।

 

दुवै साहित्य सिर्जना र कलाको क्षेत्रमा लामो समय यता सक्रिय छन् । जेष्ठ नागरिक पागल स्वास्थ्य समस्याका बाबजुत साहित्य सिर्जनाका क्षेत्रमा कटिबद्ध छन् ।  एन आर्टका प्रणेता मानिने पोखरेल पनि चित्रकला क्षेत्रका हस्ती मानिन्छन् ।

 

विशेषगरी चराहरुको चित्र कोर्न रुची राख्ने चरी बा सुपाडीको खोक्रो लगायतका वस्तुलाई आकृति बुन्न माहिर छन ।  दुवैलाई इनरुवा नगरपालिकाका मेयर राजन मेहता सहित साहित्य क्षेत्रका अग्रज लगायत उपस्थित अतिथिहरुले सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न संघ संस्था तथा साहित्य क्षेत्रमा कृयाशिल संस्थाले समेत पागल चरीलाई सम्मान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्