किन चल्यो ‘गलबन्दी’ ?, यस्ताे भन्छन् प्रकाश सपुत



बजारमा अहिले एउटा गीतको खुबै चर्चा छ, प्रकाश सपुतको ‘गलबन्दी’ । यूट्यूब, टिकटक, सामाजिक सञ्जाल तथा अन्य सञ्चारमाध्यममा गीतले स्थान जमाएको छ । 

बजारदेखि गाउँसम्म, बालकदेखि वृद्धसम्म । सबै क्षेत्र र उमेर समूहले गीत अत्याधिक रुचाएका छन् । १५ मिनेट लामो गीतको भिडियो १० दिनअघि सार्वजनिक गरिएको हो ।

यो अवधिमा झण्डै ७० लाख दर्शक पाइसकेको छ भने यूट्यूब ट्रेन्डिङमा केही दिनदेखि पहिलो स्थान जमाइरहेको छ । सम्भवतः लोकदोहोरीको इतिहासमै छोटो समयमा धेरै दर्शक पाउने गीत बनेको छ ‘गलबन्दी’ । 

किन यति लोकप्रिय बन्यो यो गीत ? सर्जक प्रकाश भन्छन्, ‘सर्वप्रथम त गीतको पनि आफ्नै भाग्य र संयोग हुँदोरहेछ । एउटा भाग्य र संयोग लिएर आएको रहेछ गलबन्दी ।’

प्रकाश गीत लोकप्रिय हुन्छ भनेर काम गर्दैनन् तर काम जतिसक्दो राम्रो गर्न भरपूर मेहनत गर्छन् । भाग्य, संयोग र मेहनत मात्र त पक्कै होइन, गीत लोकप्रिय हुनाका अन्य कारण पनि पहिल्याउँछन् ।

प्रकाश थप्छन्, ‘गलबन्दी हाम्रै समाजको कथा हो तर हामीहरूले अलिकति बिर्सिसकेको कथा । केही पुरानो हाम्रै कथालाई गीतले उजागर गरेको हुनाले पनि स्रोता–दर्शकले रुचाउनुभयो ।’

रोधी बस्ने, झ्याउरे गाउने गाउँघरको पुरानो परम्परा हो । त्यही परम्परा झल्काउँदै ठेट स्थानीय शब्द र सरल भाकामा फिल्मी शैलीमा ‘गलबन्दी’ बुनिएको छ । गीतको प्रस्तुती, रोधी र झ्याउरेको झल्को, बीचबीचमा गाउँघरमा बोलिने ठेट संवादको प्रयोगले गीतलाई आकर्षक बनाएको छ । गीतमा प्रकाश र शान्तीश्री परियारको स्वर र प्रस्तुती उत्कृष्ट छ ।

प्रकाश स्वयं र मोडल अञ्जली अधिकारीको अभिनय गीतको बलियो पक्ष हो । धेरैले प्रकाशको चञ्चलता र अञ्जलीको लजालुपनको प्रशंसा गरेका छन् । गायन र मोडलिङमा अब्बल प्रकाश निर्देशकीय पक्षमा पनि अब्बल देखिए ।

हामी कहाँ दिनैपिच्छे नयाँ–नयाँ गीतहरू सार्वजनिक हुन्छन् । धेरैमा नविनता पाइँदैन, मौलिकता पाइँदैन । त्यसैले त यूट्यूबमा सार्वजनिक हुने अधिकांश गीत यूट्यूबमै हराउँछन् । नविनता र मौलिकता नहुँदा दिनमै हराउने गीतको भीडबाट टाढा रह्यो ‘गलबन्दी’ । 

‘स्रोता–दर्शकलाई मौलिकता, नविनता र आफ्नोपन मनपर्छ,’ वरिष्ठ लोकदोहोरी गायक नारायण रायमाझी भन्छन्, ‘गीतको भावअनुसार भिडियोमा साना–साना कुरालाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।’

गाउँले परिवेशमा खिचिएको भिडियोको प्रस्तुती, ठेट शब्द, लय, स्वर, अभिनय र संवादलाई वास्तविक ढंगले उतार्नु नै गीतको सफलता भएको रायमाझीको तर्क छ ।

यस किसिमका सिर्जनाले लोकदोहोरी गीतलाई हेर्ने दर्शकको दृष्टिकोण समेत राम्रो बन्दै गएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्