सिन्धुलीमा जंगली हात्ती आतंक, एक महिनामा ५० घरमा आक्रमण



काठमाडौं :  जंगली हात्तीले गाउँ नछाड्दा सिन्धुलीको कमलाखुँज क्षेत्रका बासिन्दा आतंकित बनेका छन्। हात्तीको समूहले सोमबार राति कमलामाई नगरपालिकाको–१४ का वडा सदस्य लक्ष्मी विक र कुमार विकको घर भत्काएको वडाध्यक्ष जितलाल माझीले दिए। अहिले पनि तीन वटा हात्ती राति बस्तीमा र दिउँसो जंगलमा बस्ने गरेको उनको भनाइ छ।

हात्तीकै त्रासले स्थानीयले थाल ठटाएर र धुनी बालेर रातभरि जाग्राम बस्ने गरेका उनले बताए। वडाध्यक्ष माझीका अनुसार उक्त हात्तीको समूहले पाँच÷छ दिनभित्रमा वडामा मात्रै १५ वटाभन्दा बढी घर भत्काएर भण्डारण गरिराखेको धानसँगै खेतमा लगाएको गहुँ, आलु र फलफूल नस्ट गरेको छ।

हात्ती धपाउन प्रहरी, वन कार्यालय र रानीवासमा रहेको नेपाली सेनाको पर्यावरण गणलाई जानकारी गराए पनि कुनै उपाय नलागेको उनले बताए। हात्तीको समूहले एक महिनाभित्रमा कमलाखुँज क्षेत्रअन्तर्गत पर्ने दुधौली नगरपालिकाको वडा नं. ३ मा सात, ११ मा २८ र कमलामाई नगरपालिकाको वडा नं. १४ मा १५ गरी ५० वटाभन्दा बढी घर भत्काउनुका साथै भण्डारण गरिराखेको अन्नबाली, तरकारी, फलफूल क्षति पुर्याइसकेको स्थानीयले जनाएका छन्।

डिभिजन वन कार्यालय सिन्धुलीले भने कोसीटप्पु राष्ट्रि निकुञ्जबाट पर्सा राष्ट्रि निकुञ्जमा बसाइँ जाने क्रममा ती हात्ती अहिले दुधौली नगरपालिकाको विभिन्न ठाउँमा देखा परेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्