नापी अधिकृत भरतसिंह ऐरसहित ५ जना उपर आरोप–पत्र दायर 



काठमाडौं : नापी कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख (नापी अधिकृत) भरतसिंह ऐरसहित ५ जना उपर विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ । 

नापी अधिकृत भरतसिंह ऐर, तत्कालीन सर्भेक्षक केशव नाथ कट्टेल, तत्कालीन नापी निरीक्षक राजेश कुमार के।सी। र नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलका तत्कालीन क्याम्पस प्रमुख नारायण दास श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसान्धना आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो । 

नमूना मच्छिन्द्र क्याम्पस, लगनखेल, ललितपुरको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको जग्गामध्येको मूल्य रु १७,८१,२५० (सत्र लाख एकासी हजार दुई सय पचास रुपैयाँ) पर्ने जग्गा गैरकानूनी रुपमा आफ्नो नाममा गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जनाएको छ । 

विज्ञप्ति:- मिति २०७६।०२।२३ गते ।

नापी कार्यालय, ललितपुरका तत्कालीन कार्यालय प्रमुख (नापी अधिकृत) भरतसिंह ऐरसमेत ५ जना उपर आरोप-पत्र दायर 

जिल्ला ललितपुर, ललितपुर नगर ५/झ, कित्ता नम्बर १००१, क्षेत्रफल ०-२-२-१ र कित्ता नम्बर १००२, क्षेत्रफल ०-२-२-३ गरी जम्मा क्षेत्रफल ०-५-१-० जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा कित्ता नम्बर १०२०, क्षेत्रफल ०-१०-०-० को छुट्टै फायल नक्सा बनाई साबिकभन्दा क्षेत्रफल ०-४-३-० बढ् कायम गरी साँधमा रहेको नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको ऐ.ऐ. कित्ता नम्बर ५८, क्षेत्रफल ०-१२-१-० को सरकारी जग्गा मध्येबाट क्षेत्रफल ०-४-३-० घुसाएको विषयमा आवश्यक कारवाही गरीपाउँ भन्ने समेत व्यहोराको उजुरीको सम्बन्धमा आयोगबाट अनुसन्धान तहकिकात हुँदा नमूना मच्छिन्द्र क्याम्पस, लगनखेल, ललितपुरको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको जिल्ला ललितपुर, ललितपुर नगर ५/झ कित्ता नम्बर ५८, क्षेत्रफल ०-१२-१-० जग्गामध्येको ०-४-३-० क्षेत्रफल जग्गा गैरकानूनी रुपमा व्यक्तिविशेषको नामको जग्गामा घुसाउने गरी मन्जुतारा शाक्यको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको कित्ता नम्बर १००१ र १००२ गरी जम्मा क्षेत्रफल ०-५-१-० जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा मूल नक्सामा रहेको साबिक कित्ताको आकार, प्रकार परिवर्तन गरी छुट्टै फायल नक्सा बनाई कित्ता नम्बर १०२०, क्षेत्रफल ०-१०-०-० कायम गराई सरकारी विद्यालयमा संचालित सामुदायिक क्याम्पसको ०-४-३-० क्षेत्रफल जग्गा मस्यौट हुनेगरी गैरकानूनी रुपमा व्यक्तिविशेषको नामको जग्गाको क्षेत्रफल बढाउने कार्यमा नापी कार्यालय, ललितपुरका तत्कालीन कार्यालय प्रमुख (नापी अधिकृत) भरतसिंह ऐर, तत्कालीन सर्भेक्षक केशव नाथ कट्टेल, तत्कालीन नापी निरीक्षक राजेश कुमार के.सी. र नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलका तत्कालीन क्याम्पस प्रमुख नारायण दास श्रेष्ठको प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन आएकोले राष्ट्रसेवक कर्मचारी भई आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानि-नोक्सानी हुने र व्यक्तिविशेषलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्यालउने कार्य गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरु भरतसिंह ऐर, केशव नाथ कट्टेल, राजेश कुमार के.सी. र नारायण दास श्रेष्ठलाई उक्त जग्गाको मूल्य रु. १७,८१,२५०।–(सत्र लाख एकासी हजार दुई सय पचास रुपैयाँ मात्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हदैसम्मको कैद र बिगोबमोजिमको जरिवानाको सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाण्डौमा आरोप-पत्र दायर गरिएको। 

साथै जग्गाधनी मन्जुतारा शाक्यले नापी कार्यालय, ललितपुरका कर्मचारीहरुलाई अनुचित प्रभावमा पारी आफूसमेतलाई गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्यादउने बदनियतले आफ्नो नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा साँधमा रहेको नमूना मच्छिन्द्र क्याम्पस, लगनखेल, ललितपुरको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको जग्गामध्येको मूल्य रु. १७,८१,२५०।–(सत्र लाख एकासी हजार दुई सय पचास रुपैयाँ मात्र) पर्ने जग्गा गैरकानूनी रुपमा आफ्नो नामको जग्गामा घुसाई जग्गाधनी दर्ता प्रमाण-पूर्जा लिई क्याम्पसको जग्गा मस्यौट गरी भ्रष्टाचारजन्य कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज जग्गाधनी मन्जुतारा शाक्यलाई रु. १७,८१,२५०।–(सत्र लाख एकासी हजार दुई सय पचास रुपैंया मात्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुरको मात्रा अनुसार हदैसम्मको कैद, सजाय र बिगोबमोजिमको जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाण्डौमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता

प्रदीपकुमार कोइराला

 

 

प्रतिक्रिया दिनुहोस्