सेयर निष्कासन अनुमति दिने तयारीमा बोर्ड



काठमाडौं : नेपाल धितोपत्र बोर्डले पाँच महिनापछि आईपीओ निष्कासनको अनुमति दिने तयारी गरेको छ। बोर्डले एकै पटक पाँच कम्पनीलाई सेयर निष्कासनको अनुमति दिन लागेको हो।

गत साउन १४ गते बुद्धभूमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमतिपछि बोर्डले कुनै कम्पनीलाई स्वीकृति दिएको थिएन। लामो समयदेखि रोकिएको आईपीओ स्वीकृतिको प्रक्रियाले अब निरन्तरता पाउने बोर्डले जनाएको छ।

धितोपत्र बोर्डका अनुसार बलेफी हाइड्रोपावर कम्पनी, ग्रीन भेन्चर्स लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने तयारी गरिएको छ।

बलेफी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसमेतमा कुल ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले धितोपत्र बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो।

त्यस्तै ग्रीन भेन्चर्स लिमिटेडले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०७७ साल फागुन २८ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो। जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको छ।

हाल धितोपत्र बोर्डमा यी पाँचसहित ३१ कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा छन्। नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा आईपीओ स्वीकृति प्रक्रिया रोकिएको हो।

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेण्टको सेयर प्रकरणमा मुछिएपछि गत असोज १९ गते सरकारले बर्खास्त गरेको थियो। सोपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ।

प्रतिक्रिया दिनुहोस्