नीति तथा कार्यक्रमकाे दुई वटा बुँदा सच्याउन र हटाउन प्रतिपक्षकाे आग्रह



धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलले संशोधन प्रस्ताव दर्ता गराएको छ । प्रतिपक्षी दलले सरकारको नीति तथा कार्यक्रममा रहेको मुख्यमन्त्री कपलाई निरन्तरता दिइने बुँदा संशोधन गरिनुपर्ने र मुख्यमन्त्री प्रदेश स्वयम् सेवक परिचालन कार्यक्रम तर्जुमा गरी सञ्चालन गरिने बुँदा हटाउनुपर्ने मागसहित संशोधन प्रस्ताव दर्ता गराएको हो। 

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य गोविन्दराज बोहरा प्रस्तावक र कुमारी नन्दा बम समर्थक रहेको नीति तथा कार्यक्रममाथिको संशोधनको प्रस्ताव सचिवालयमा दर्ता भएको सभामुख अर्जुनबहादुर थापाले सदनलाई जानकारी गराए । 

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको नीति तथा कार्यक्रमको ९३ नम्बर बुँदमा रहेको रहेको मुख्यमन्त्री अन्तर प्रदेश खेलकुद प्रतियोतिालाई निरन्तरता दिइने बुँदालाई सांसोधन गरी जिल्ला स्तरका खेलबाट खेलाडी छनौट गरिनुपर्ने माग राखिएको छ । 

त्यस्तै ९४ नम्बर बुँदामा रहेको प्रदेशको विकास र स्वारोजगारीलाई टेवा पुग्ने गरी मुख्यमन्त्री प्रदेश स्वयम् सेवा परिचालन कार्यक्रम तर्जुमा गरी सञ्चालन गरिने छ भन्ने बुँदा हटाउनु पर्ने प्रस्तावक गोविन्दराज बोहराले बताए । 

गत १९ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको थियो । प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा टेकेर प्रदेश सरकारले आगामी असार १ गते आगामी आर्थिक वर्षका लागि ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे आह्वान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्