आयल निगमले आईओसीलाई पठायो १३ अर्ब २० करोड 



काठमाडौँ : नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन आइओसीलाई १३ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ । सञ्चित बचत शून्यमा झरेपछि तेल किन्न समेत पैसा नभएको बताएको निगमले सरकारसँग ऋण लिएर आज आइओसीलाई रकम भुक्तानी गरेको हो ।

निगमले मूल्य स्थिरीकरण कोषबाट  एक अर्ब ८० करोड रुपैयाँ लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए । मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आइओसीलाई तिर्न अपुग एक अर्ब ८० करोड रुपैयाँ निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

कोष सञ्चालक समितिको अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ । निगमले दोस्रो किस्ताबापत आइओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भए पनि आइतबार आईओसी बन्द भएका कारण एक दिन पछि भुक्तान गरेको हो । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिँदै गएको छ । नेपालमा वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्