एमाले र लोसपाले राष्ट्रिय सभाको निर्वाचनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि सहकार्य गर्ने



काठमाडौं । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले माघ १२ गतेको राष्ट्रिय सभाको निर्वाचनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि सहकार्य गर्ने भएको छ ।
ती दुवै पार्टीले यसअघि मधेश प्रदेशमा सहकार्य गर्ने सहमति गरिसकेको छ ।
सहमतिअनुसार लोसपाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एमालेका उम्मेदवारलाई मत दिने छ ।
राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा एमालेसँग सहकार्य गर्ने लिखित सहमति भएसँगै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि सहकार्य गर्ने मौखिक सहमति भएको लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले बताए ।
‘एमालेसँगको यो सहमति आगामी निर्वाचनसम्म जाने सम्भावना छ,’ नेता सोनालले भने । एमाले र लोसपाको सहकार्य यो पहिलो पटक भने होइन । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उनलाई जोगाउन महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसंह भण्डारी, अनिल झा लगायतका नेताहरुले धेरै प्रयास गरेका थिए । उनीहरु सरकारमै गएका थिए । ठाकुर र महतोले ओलीलाई सघाएवापत् तत्कालीन जनता समाजवादी पार्टी विभाजन भयो र ठाकुर महतो लगायतका नेताहरु जसपाबाट अलग भए । त्यसपछि उनीहरुले लोसपा गठन गरे ।
ओली सरकार विघटन पछि पनि एमाले र लोसपाबीचको सम्बन्ध यथावत् छ । एमाले र लोसपाका नेताहरुले सार्वजनिक रुपमा एक अर्कोलाई गाली र आलोचना गर्ने गरेका छैनन् । ओली प्रधानमन्त्रीबाट हटे पनि ओलीलाई भेट्न ठाकुर र महतो बेला बेलामा ओली निवास बालकोट जाने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्