कैलाली हावाहुरी अपडेट : घाइते दुई जनालाई उपचारका लागि भारत पठाइयो 



काठमाडौं : कैलालीमा हावाहुरीबाट घाइते भएका दुई जनालाई थप उपचारका लागि छिमेकी मुलुक भारत पठाइएको छ । 

बिहीबार राति कैलालीमा आएको हावाहुरीमा परी दुई जनाको मृत्यु भएको छ भने १ सय ९ जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर भएपछि थप उपचारका लागि भारत पठाईको कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । साथै गम्भीर घाइते भएका अन्य दुई जनालाई भने नेपालगञ्ज पठाइएको उनले बताए । 

त्यस्तै घाइते मध्य ६७ जना उपचारपछि घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए। अन्य केहीको कैलाली स्थित अस्पतालमा उपचार भइरहेको छ

सुदूरपश्चिमका विभिन्न जिल्लामा हावाहुरीबाट ठूलो जनधनको क्षति पुगेको छ। हावाहुरीका कारण कैलाली जिल्लामा बिहीबार साँझैबाट विद्युत् आपूर्ति अवरुद्ध भएको छ । 

यसैबिच धनगढी उपमहानगरपालिकाको नगरस्तरिय विपत व्यवस्थापन समितिको बैठकले अन्तरिम राहत वितरण गर्ने निर्णय गर्ने र घाइतेहरुको उपचार प्रदेश सरकारले गर्ने बताएको छ । 

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले उपमहानगरपालिका तथा क्षति पुगेका स्थानीय तहसँग समन्वय गरेर राहत वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्