ग्लोबल छनोटका लागि क्रिकेट टोली मैदानमा



काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ । आइसिसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारबाट सुरु गरेको हो ।
ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेका १६ खेलाडीसहित अन्य केही खेलाडीलाई प्रशिक्षक पुबुद दसानायकेले बन्द प्रशिक्षणलाई सुचारु गरेका हुन् । तर, ग्लोबल छनोटका लागि घोषणा भएका केही खेलाडीमा कोरोना देखिएकोले प्रशिक्षणमा समावेश छैनन् । छनोट खेलका बिग ब्यास रहेको कप्तान सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् ।
ग्लोबल छनोट खेल्नु अघि नेपालले ओमानमा चार देशीय ट्वान्टी–२० शृङ्खला खेल्नेछ । शृङ्खलामा नेपालसहित आयोजक ओमान, टेस्ट राष्ट्र आयरल्यान्ड र युएईले प्रतिस्पर्धा गर्नेछन् । शृङ्खला नेपालको ग्लोबल छनोटको अभ्यास खेलको रूपमा हेरिएको छ । शृखंला अन्तर्गत पहिलो खेलमा नेपालले ओमनविरुद्ध फेब्रुअरी ११ मा खेल्दै छ । यस्तै दोस्रो खेल युएईसँग फेब्रुअरी १२ र तेस्रो खेल फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्दै छ । त्यसपछि फेब्रुअरी १८ मा ओमानसँग खेल्दै ग्लोबल छनोटको सुरुवात गर्नेछ । फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानडासँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्