फ्रान्स र इटालीबाट १३ लाख डोज खोप आयो



काठमाडौं । कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत् प्रदान गरेका १३ लाख मात्रा खोप बुधबार नेपाल आइपुगेको छ ।
काठमाडौंस्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा मन्त्री खतिवडाले आवश्यकताको यो घडीमा फ्रान्स र इटालीले १३ लाख खोप सहयोग गरेकामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट कृतज्ञता ज्ञापन गर्दै यो सहयोग नेपाल र युरोपेली सङ्घका सदस्य राष्ट्रहरूबीचको मैत्रीको उदाहरण हो भने ।
फ्रान्सले छ लाख ८५ हजार ४०० र इटालीले छ लाख ६३ हजार ६०० मात्रा खोप हस्तान्तरण गरेका हुन् । यसअघि जर्मनीले पठाएको ४१ लाख मात्रा खोपमा थपिएर यो इयू सदस्य राष्ट्रहरूले उपलब्ध गराएको खोपको सङ्ख्या ५४ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्