हावाहुरीपीडितले अझै राहत पाउन सकेनन्, के हेर्दै छ सरकार ?



धनगढी : कैलाली र कञ्चनपुरका हावाहुरी पीडितले अझैसम्म राहत नपाएको गुनासो गरेका छन् । बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीले २ जनाको मृत्यु भएको थियो भने ८० जना भन्दा बढी घाइते भएका थिए ।

हावाहुरी गएको दुई दिन बितिसक्दा पनि पीडितले राहत नपाएको गुनासो गरेका हुन् । हावाहुरी पीडितको राहतका लागि भनेर कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मनमोहन जोशीको नेतृत्वमा समिति गठन गरिएको छ । उक्त समितिले अहिलेसम्म १ सय २० वटा त्रिपाल मात्रै वितरण गरेको बताएको छ । समितिले वितरण गरेका पाल पनि रेडक्रस सोसाईटीले उपलब्ध गराएको हो ।

राहत वितरणका लागि गठन गरिएको समीतिले अहिलेसम्म क्षतिको विवरण संकलन गरिरहेको बताएको छ । तर, गोदावरी नगरपालिका धनचौडीका दिलराज भट्टराईले राहत त परै जावस अहिलेसम्म क्षतीको विवरण संकलनका लागि समेत कोही नआएको गुनासो बताएका छन् । 

गत चैतमा बारामा हावाहुरी गएको दोस्रो दिन नै सुदुरपश्चिम प्रदेशले एक करोड रातह घोषणा गरेको थियो । तर, सुदूरपश्चिम प्रदेश सरकारले भने कुनै निर्णय गर्न सकेको छैन ।

राहत वितरणमा मौन देखिएका स्थानीय तहहरुले पनि क्षतिको विवरण संकलन गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्