प्रदेश २ सरकारमा सहभागी हुने नेकपा (एकीकृत समाजवादी)को निर्णय



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
माधवकुमार नेपाल नेतृत्वको समाजवादीको सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । बैठकले समाजवादीको संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गर्ने निर्णय गरेको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।
प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ । यसअघि प्रदेशसभामा ५ दल थिए । अध्यादेश अनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत) समाजवादी र जसपा नेपाल विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टीका रुपमा दुई नयाँ दल अस्तित्वमा आएका छन् ।
जसपा नेपाल विभाजित भएसँगै महन्थ ठाकुर नेतृत्वमा बनेको लोसपामा १६ जना प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । त्यस्तै नेकपा एमाले विभाजित समाजवादीमा १३ जना प्रदेश प्रदेशसभा सदस्यले सनाखत गरेका छन् ।
अहिले प्रदेशसभामा जसपा नेपालका ३९, नेपाली कांग्रेसका १९, लोकतान्त्रिक समाजवादी पार्टीका १६, नेकपा एकीकृत समाजवादीका १३, नेकपा माओवादी केन्द्रका ८, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्