चीनले अमेरिकालाई भन्यो : ताइवानसँग वार्ता नगर्नु



एजेन्सी : चीनले अमेरिकालाई ताइवानसँग कुनैपनि किसिमको वार्ता नगर्न आग्रह गरेको छ । चीनका अधिकारीहरुले अमेरिकासँग ताइवानसँग कुनै पनि किसिमको आधिकारिक कुराकानी नगर्न आग्रह गरेका हुन् । खासमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र ताइवानका उपराष्ट्रपति लाइ चिंग तेको होन्डुरासका राष्ट्रपति शिमोरा कास्त्रोको समारोहमा भेटवार्ता भएको थियो ।

मिडिया रिपोर्टका अनुसार अमेरिकी उपराष्ट्रपति र ताइवानका उपराष्ट्रपतिबीच केवल ३० सेकेण्डको निकै संक्षिप्त वार्ता भएको थियो । यस क्रममा उनीहरुले साझा हित र अवैध प्रवास रोक्नका लागि ह्वाइट हाउसका मूल कारण र रणनीतिका बारेमा कुरा गरेका थिए ।

कमला ह्यारिसले यस क्रममा आफूहरुबीच चीनका विषयमा कुनै कुरा नभएको स्पष्ट पारेकी थिइन् । ताइवानका अधिकारीहरुको हवाला दिँदै मिडिया रिपोर्टमा पनि लाइले अमेरिकालाई उनीहरुको ‘चट्टानजस्तै दृढ’ समर्थनको लागि धन्यवाद दिएका थिए ।

यसअघि कमला ह्यारिले मिडियासँग कुरा गर्दै होन्डुरासमा उपस्थितिका क्रममा आफ्नो लाइसँग भेट्ने कुनै योजना नभएको बताएकी थियन् । ग्लोबल टाइम्सका अनुसार ताइवानका केही मिडिया रिपोर्टमा यो ३० सेकेण्डको भेटघाटलाई कूटनैतिक सफलताको रुपमा पेश गरिएको छ ।

ग्लोबल टाइम्सका अनुसार यस विषयमा चीनको विदेश मन्त्रालयका प्रवक्तासँग प्रश्न गरिँदा उनले ताइवान चीनको एक प्रान्त भएको र यस्तो ठाउँको कोही उपराष्ट्रपति कसरी हुन सक्छ भन्दै प्रतिप्रश्न गरेका थिए । उनले चीनले सधैं ताइवान र अमेरिकाबीच कुनै किसिमको वाताृको विरोध गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्