दमौलीको भकुन्थोकमा चितुवाले एक बालिका मा-यो



दमौली : चितुवाले शुक्रबार भानु–२ भकुन्थोककी ९ वर्षीया बालिका पुष्पा अधिकारीको ज्यान लिएको छ। आँगनमा खेलिरहेकी उनलाई साँझपख नजिकैको जंगलबाट आएको चितुवाले घिसादै लगेको थियो। चप्पल आँगनमै छुटेकी बालिका खोज्दै जाँदा ५ सय मिटर पर मृत भेटिएको हो।

यही क्षेत्रमा कात्तिक र मंसिरमा २ बालबालिकाको ज्यान पनि चितुवाले नै लिएको थियो। घटनालगत्तै एउटा चितुवा मृत भेटिएको थियो। तर फेरि चितुवा देखापरेपछि भानु क्षेत्रका स्थानीय त्रसित भएका छन्। चितुवाको निसानामा बालबालिका पर्दै आएका छन्। गत वर्ष कात्तिकमा पनि चितुवाले अर्का एक बालकको ज्यान लिएको थियो। यही वर्ष ३ र गत वर्ष १ बालबालिका चितुवाको आक्रमणमा परेका छन्।

एकै क्षेत्रमा लगातार आक्रमण भएपछि वन डिभिजन तनहुँले त्रिवि जीव विज्ञानका प्राध्यापकको समूहलाई घटनास्थल लगेको थियो। समूहले आफ्नो निष्कर्षसहित अध्ययन प्रतिवेदन बुझाउने तयारी गर्दै गर्दा फेरि अर्को घटना भएको हो। ‘बढ्दो वन क्षेत्र अनि आहाराको अभाव मुख्य कारण देखिन्छ’, अध्ययन टोलीका संयोजक उपप्राध्यापक डा. हरि शर्माले भने।

टोलीको अध्ययनका क्रममा वन क्षेत्रमा एउटै पनि मृग फेला परेन। चितुवाको संख्या भने एकभन्दा बढी थियो। ‘वनमा आहारा नभेटेपछि नजिकको बस्तीमा चितुवा सरेको हुन सक्छ’, उनले भने। वन क्षेत्रनजिकै मानव बस्ती भएका कारण पनि आक्रमण बढेको ठम्याइ उनको छ।

‘साना र बालबालिकामाथि आक्रमण गरेको देखिन्छ’, उनले भने, ‘प्रतिरोध गर्न नसक्नेमाथि आक्रमण भएको छ।’ घटना दिउँसो र रातिभन्दा पनि साँझतिर हुने गरेको पाइएको छ। यस्ता समयमा बढी सचेत हुनुपर्ने विज्ञको राय छ। वन डिभिजन तनहुँका प्रमुख केदार बरालले विज्ञको सुझावका आधारमा सचेतना फैलाउने काम गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्