नेपालकै स्कुलमा पढ्न आउँछन् भारतीय विद्यार्थी



भद्रपुुर : दुुई देशबीचको सीमास्तम्भ, आसपास नेपाल र भारतीय बस्ती। भारतीय सीमाछेउका नेपाली स्कुल भारतीय विद्यार्थीले भरिएका छन्। झापाको कचनकवल गाउँपालिकाका ४ सरकारी विद्यालयमा भारतीय विद्यार्थी कक्षाकोठामा अटाइनअटाइ छन्।

संस्कार, संस्कृति, भाषा र देशको इतिहास फरकफरक छ। तर सीमावर्ती विहारका बालबालिका नेपालकै इतिहास पढ्छन्, संस्कार, संस्कृति, भाषा पनि नेपाली सिक्छन्। भारतले छोराछोरी विद्यालय पठाएबापत् रासन कार्ड, स्कुलमा खाजा र विद्यार्थीलाई साइकल दिन्छ। दुरीका हिसाबले भारतीय स्कुल टाढा भए पनि रासन कार्डकै लागि उनीहरू छोराछोरीलाई भारतमा भर्ना त गर्छन् तर पढाउँछन् नेपालमै।

पाठामारी क्षेत्रका श्री आधारभूत प्रावि, जानकी आधारभूत विद्यालय, बुुद्ध प्रावि र केचनास्थित शारदा प्राविमा २५ प्रतिशत भारतीय विद्यार्थी अध्ययनरत छन्। ‘उनीहरूलाई नआओ भन्न मिल्दैन। नेपालीसँगै छिमेकी भएर बसेका छन्’, बुुद्ध प्राविका प्रधानाध्यापक गोपाल राजवंशीले भने, ‘नेपालकै राष्ट्रिय गान गाउँछन्, अनि इतिहास र भाषा नेपालकै सिक्छन्।’

भारतीय स्कुल बस्तीबाट करिब ५/७ किलोमिटर दुुरीमा छन्। भारतीय अभिभावकले उताका स्कुलमा भर्ना गर्छन्। अनि पढाउन नेपालतिरै ल्याउँछन्। हिँड्न सक्ने भएपछि ठूलो कक्षामा पुुगेपछि मात्र भारततर्पm पढ्न पठाउने चलन छ। बिहारतर्फको दलेगाउँ पञ्चायत–३ का अभिभावक रुक्सना गणेश भन्छिन्, ‘भारतमा भर्ना नगरे रासन कार्ड पाइँदैन। नेपालमा भर्ना गरेन भने बच्चाले अक्षर चिन्न पाउँदैन।’

भारततर्फको विद्यार्थीले पनि नेपालका सरकारी विद्यालयबाट नेपालीसरह नै सुविधा पाइरहेका छन्। नेपालको दक्षिण सीमाका अधिकांश भारतीय बस्ती आर्थिक रूपमा कमजोर छन्। बच्चालाई दुवै देशका स्कुलमा भर्ना गर्नुु आफूहरूको बाध्यता रहेको स्थानीय अजिम आलमले बताए। बर्खाको समयमा मेचीखोला बढेपछि पाठामारी क्षेत्रका बालबालिका भारततर्पm पढ्न जान सक्दैनन्। त्यसैले धेरैजसो अभिभावकले नेपालतिरकै स्कुलमा पढाउने गरेका छन्।

‘एक दशकअघिसम्म ८० प्रतिशत भारतीय विद्यार्थीले नेपाली सीमाका सरकारी विद्यालय खचाखच भरिन्थे’, केचनास्थित शारदा प्राविका प्रधानाध्यापक शेषराज गणेशले भने, ‘अधिकांश भारतीय विद्यार्थीलाई उताको राष्ट्रियगान पनि आउँदैन।’ पाठामारी–४ खुुमुु्रभिट्टास्थित बुुद्ध प्राविमा हाल एक सय १६ जना विद्यार्थी छन्। तीमध्ये ३५ जना भारतीय छन्।

प्रतिक्रिया दिनुहोस्