५० लाखको लागतमा बस्ती संरक्षण आयोजना सुरु



म्याग्दी : कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना सुरु भएको छ। रुपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करिब २ किलोमिटर क्षेत्रमा ग्याबिन जाली भरेर तटबन्ध गर्न लागिएको हो।

संघीय सांसद भुपेन्द्रबहादुर थापाको पहलमा रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बगरफाँटको वस्ती संरक्षणका लागि डिपीआर तयार गरी १ वर्ष भित्रमा काम सम्पन्न गर्नेगरी संरक्षण आयोजनाको काम सुरु भएको बगरफाँट, म्याग्दीखोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताए।

अध्यक्ष कार्कीका अनुसार यस वर्ष नदी कटानबाट अति प्रभावित क्षेत्र जरुवादेखि डम्मराको पुलसम्म ४ सय थान जाली भर्ने योजना रहेको छ। विगत ३ दिनदेखि दैनिक २६ जना मजदुरहरूले ग्याविन लगाउने काम गरिरहेका छन्।

२०५७ सालमा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रुपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षहरूमा सामान्य ग्याविन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिए पनि त्यो प्रभावकारी भएको थिएन। करिब २ सय घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहेपनि बर्खामा भने नदी कटानका कारण सधै जोखिममा रहने गरेको स्थानीयले बताएका छन्।

गत वर्ष स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त १० लाखबाट नदीजन्य वस्तुहरूको स्थानान्तरण गराइ उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम गरिएको अध्यक्ष कार्कीले जानकारी दिए।

अध्यक्ष कार्कीका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका–६ डम्मराका बासिन्दाको आपसी सहमतिमा म्याग्दी नदीको करिब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्यवस्तु (ढुङ्गा,गेगर,वालुवा) आदी निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको थियो।

नदीले बगरफाँटको करिब १ सय ५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइ सकेको छ भने खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र, पलासे र जरुवा उच्च जोखिममा परेका छन्। बगरफाँट सदरमुकाम बेनीबजारसंगै जोडिएको कृषिका लागि उर्वर फाँट भएको गाउँ हो।  

प्रतिक्रिया दिनुहोस्