बैतडीका सबै विद्यालयमा पठनपाठन शुरू



बैतडी : भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय बुधवारदेखि सञ्चालन भएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रूपमै पठनपाठन शुरू भएको हो । दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन शुरू भएको छ।

स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिकरुपमै पठनपाठन कार्य सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित सनातन धर्म माविका प्रधानाध्यापक वलदेवनाथले जानकारी दिए। विद्यालयमा मास्क अनिवार्य गरिएको छ । स्यानिटाइजर र साबुनपानीले हात धुने व्यवस्था छ । उनले भने, ‘कक्षा कोठामा पनि विद्यार्थी बीच सकेसम्म सामाजिक दूरी कायम गरेका छौ तर विद्यार्थी बढी र कक्षा कोठा कम भएकाले त्यसमा कठिनाई भएको छ ।’ भौतिक रूपमै पठनपाठन कार्यमा सहभागी हुन पाउँदा विद्यार्थी खुशी भएका छन्।

मेलौली, पुर्चौडी, दशरथचन्द, पाटन नगरपालिका तथा डिलाशैनी, सुर्नया, शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा यसअघि नै पठनपाठन शुरू भइसकेको छ। भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ। हाल बैतडीमा २० सक्रिय संक्रमित छन् । शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा हाल कोरोनाका सक्रिय संक्रमित शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा ५६२ विद्यालय छन् जसमध्ये २४ संस्थागत र बाँकी सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्