महाकाली पुलको निर्माण अझै गति लिएन



कञ्चनपुर । सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजना मध्येमा पर्ने कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम साढे तीन महिनायता प्रभावित छ ।
गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायतका संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको निर्माणले अझै गति लिन सकेको छैन ।
पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिर्वतन गर्ने प्रक्रिया अघि बढेपछि निर्माणको काम रोकिएको हो । यसअघि ठूला ढुङ्गाको ‘गाइडबण्ड’ बनाउने भनिए पनि ठूलो ढुङ्गाको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल अघि बढेको छ ।
गाइडबण्ड बनाउन २५७ किलोग्रामभन्दा माथिका ७० प्रतिशत र २० देखि ४० किलोग्रामका ३० प्रतिशत ढुंगा आवश्यक थियो। रु तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।
सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा विकास गर्न खोजिएको पुलको पारि र वारि दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा छ ।
२०७४ भदौदेखि सुरु भएको पुल निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म रहेको छ । गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करिब रु २० करोडभन्दा बढीको क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्