पर्सामा घर भत्काइयो तर सडक बनेन



वीरगन्ज : पर्साको छिपहरमाई गाउँपालिकामा सडक र नाला बनाउन १६ स्थानीयका घर भत्काइए पनि अहिलेसम्म सडक निर्माण भएको छैन। छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा सडक र नाला बनाउन दुई महिनाअघि नै घरमात्र नभएर मन्दिर भत्काइयो तर अहिलेसम्म सडक बन्ने सुरसार छैन।

स्थानीय रामबालक साहको घरदेखि पश्चिम करिब ४ सय ८० मिटर ढलान सडक र एकतर्फी नाला निर्माण गर्न स्थानीयको घर भत्काइए पनि निर्माणको कुनै छाँटकाँट नदेखिएको स्थानीय सोहन साहले बताए।

‘आर्थिक वर्ष सकिन करिब एक महिना बाँकी छ, उपभोक्ता मार्फत् योजना निर्माण गर्न सम्झौता गरिएको छ’, उनी भन्छन्, ‘तर उपभोक्ता समितिले सडक बनाउन कुनै चासो नदेखाएपछि पनि गाउँपालिकासमेत कानमा तेल हालेर बसेको छ।’ ‘सडक र नाला बनाउन वडाध्यक्षले उपभोक्ता समिति गठन गर्न गाउँमै भेला गराएका थिए’, सोहनले भने, ‘स्थानीय हरिओम साहले आफ्नै उपभोक्ता समितिमार्फत् निर्माण गर्ने दाबी गरेपछि वडाध्यक्ष विनोद साहले हरिओमको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरेर गाउँपालिकामा सिफारिस गरेका थिए।’

गाउँपालिकाले उपभोक्ता समितिमार्फत् सडक र नाला निर्माण गर्न २० लाख रुपैयाँ बजेट छुट्याएको थियो। हरिओम साहले ढलान सडक र नाला निर्माण गर्न ७ सदस्यीय उपभोक्ता समिति गठन गरेर योजना हात पार्न गाउँपालिकासँग कात्तिक पहिलो साता सम्झौता गरे। जेठ मसान्तभित्र सडक र नाला निर्माण गर्ने सम्झौता पनि समितिले ग-यो।

सम्झौताको ८ महिना बितिसक्यो तर समितिले सडक निर्माण गर्न कुनै चासो देखाएको छैन। राजनीतिक पहुँचबाट हात पारेको योजना असफल बनाउन उनी लागि परेको सोहनको आरोप छ। ‘हरिओमले सडक र नाला निर्माण गर्न अक्षम छन्। उनी योजना कसरी असफल बनाउने भन्ने खेलमा मात्र लागेका छन्’, सोहनको आरोप छ।

‘वर्षात् सुरु हुन लागेको छ। सबै टेन्डर खारेज पनि हुन्छ, कसरी गिट्टी बालुवाको जोहो हुन्छ’, उनले भने, ‘वर्षात् सुरु भएपछि न समयमै सिमेन्ट पाउँछ, न माटो पाउँछ कसरी सडक र नाला बन्छ’, उनले भने, ‘भत्केको घर कहिलेसम्म बनाउँछन्, पानी परेपछि घरघरमा पानी पस्छ, सुत्न सकिँदैन। उपभोक्ता समितिले समयमा निर्माण गरिदिएको भए यस्तो समस्या आउँदैनथ्यो।’

उपभोक्ता समितिले स्थानीय रामबालक साहको घर भत्काएको छ। सडकको लागि १३ फिट र नालाको लागि ३ फिट जग्गा चाहिए पनि समितिले जबरजस्ती अरुको घर भत्काउन लगाएको छ। घरअगाडि ३९ फिट चौडा बाटो छ तर आफ्नो घर जबरजस्ती समितिले भत्काएको भन्दै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने उनले बताए।

उनले भने, ‘ठीक छ, सडक निर्माण गर्न मेरो घर पनि भत्काइयो तर घर भत्काएको २ महिनाभन्दा बढी भइसक्यो तर अहिलेसम्म काम थालेको छैन। नाला निर्माण हुन नसकेपछि भत्केको घर पनि बनाउन सकिएको छैन। यसको क्षति कसले तिर्ने?’, आक्रोशित हुँदै साहले भने, ‘समितिमाथि जसरी पनि कारवाही हुनै पर्छ।’

‘सम्झौता अवधि जेठ मसान्त बित्न लाग्दासमेत उपभोक्ता समिति निर्माण गर्न कुनै सुरसार नै गरेका छैन्न’, वडाध्यक्ष विनोद साह कानुले भने, ‘जेठ मसान्तभित्र काम सुरु नगरेपछि रकम नै फ्रिज हुन्छ। समिति खारेज गरेर पनि ठेक्कामार्फत् निर्माण कार्य यही आर्थिक वर्षभित्र प्रयास गर्ने छौ, तर रकम फ्रिज हुन दिँदैनौ।’

उपभोक्ता समितिको लापरवाहीबारे बारम्बार ताकेता गर्दासमेत गाउँपालिका प्रमुख मनोज गुप्ता र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले कुनै चासो नदेखाएको वडाध्यक्ष साहको आरोप छ। ‘हामी बारम्बार भनि रहेका छौं, उपभोक्ता समिति सक्षम देखिएको छैन। समयमै खारेज गरी पुनः अर्को समिति गठन गरेर निर्माण प्रक्रिया अगाडि बढाऔं, तर गाउँपालिकाका प्रमुखले मानेनन्’, उनले भने।

उता गाउँपालिका प्रमुख देवनाथ साहले समयमै काम नगर्ने समितिसँगको सम्झौता रद्द गरी कारवाहीको पहल गर्ने बताए। उनले भने, ‘समयमै निर्माण नभएपछि आउँदो बर्षामा समस्या हुन्छ, हामीले जनताको दुःख बुझेका छौं। जसरी पनि सडक र नाला निर्माण अर्को समितिमार्फत् भए पनि सुरु गर्छाै।’

प्रतिक्रिया दिनुहोस्